कपिलवस्तु । बाघ नेपालमा कति होलान् ?
अघिल्लो तथ्याङ्कले भन्छ विश्वकै दुर्लभ पाटेबाघ नेपालमा तीन सय ५५ वटा छन् । बाघको प्रिय आहारा नीलगाई बढेकाले नेपालमा बाघ थपिएको अनुमान छ। पुस १ गतेदेखि मुलुकभर दुई सय ५० भन्दा बढी जनशक्ति परिचालन गरी फेरि बाघ गणना गर्न लागिएको छ। हरेक चार वर्षमा गरिने राष्ट्रिय बाघ गणना पाँचौं पटक हुन लागेको हो ।
पर्यापर्यटनको प्रमुख आकर्षण बाघको चितवन-पर्सा, बाँके-बर्दिया र शुक्लाफाँटा-लालझाडीलाई तीन वटा ब्लक बनाइ गणनाको योजना बनाइएको छ । करिब ८ हजार ४ सय वर्गकिलोमिटर क्षेत्रमा स्वचालित क्यामरा राखेर गणना गरिनेछ । चितवन-पर्सा ब्लकमा पुस १ र २ मा गणना सुरू गरिने छ । दुई बाई दुई वर्ग किलोमिटरको एउटा ग्रिड बनाइने छ । त्यसमा दुईतिरबाट एक जोडी स्वचालित क्यामरा जडान गरेर गणना गरिनेछ ।
चितवन-पर्सा ब्लकलाई तीन खण्डमा विभाजन गरी एउटा खण्डमा क्यामरा जडान गरेर सकिएपछि अर्को खण्डमा जडान गरेर गणना गरिने छ । क्यामरा अभाव हुँदा एउटा खण्डमा काम सकिएपछि मात्रै अर्कोमा गणना गरिने छ ।
त्यस्तै बाँके-बर्दिया ब्लकलाई पाँच खण्डमा बाँडेर गणना गरिँदैछ । बर्दिया र बाँकेमा दुई/दुई र दाङमा एक खण्ड बनाइएको छ । बर्दिया खण्डमा पुस ५ गतेबाट गणना थालिनेछ । त्यस्तै शुक्लाफाँटा-लालझाडी कोरिडोरलाई एउटा ब्लक बनाएर गणना गरिँदैछ । चितवनमा गणना गरेर क्यामरा खाली भएपछि शुक्लाफाँटामा सुरू गरिने छ ।
एकैपटक गणना गर्दा जनशक्ति र क्यामरा बढी चाहिने हुँदा सानो खण्ड बनाएर गणना थालिएको हो । सन् २०२२ मा एक हजार ८ सय ४३ क्यामरा प्रयोग गरेर गणना गरिकोमा यस पटक दुई हजार ३ सय क्यामरा प्रयोग गरिादैछ । पुसदेखि सुरू भएको गणना चैतसम्म चल्नेछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जेडएसएललगातयका निकायको सहयोगमा गणना भइरहेको हो । सकेसम्म २०२६ को जुलाई २९ मा पर्ने विश्व बाघ दिवसका दिन गणनाको नतिजा सार्वजनिक गर्ने अधिकारीहरू बताउँछन् ।
सन् २००९ मा वैज्ञानिकरूपमा गणना थालिँदा देशैभर १२१ बाघ थिए । त्यसपछि सन् २०१३ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा ३५५ वटा बाघ गणना गरिएको थियो ।