
काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया जारी रहेका बेला अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले आ-आफ्ना प्यानलको सूची सार्वजनिक गरेका छन् ।
अध्यक्ष ओली प्यानलको उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरू बराल, पृथ्वी सुब्बा गुरूङ र प्रदीप ज्ञवाली रहेका छन् भने महासचिवमा शंकर पोखरेललाई नै दोहोर्याइएको छ । यस्तै, उपमहासचिवमा विष्णु रिमाल, लेखराज भट्ट र रघुवीर महासेठ तथा सचिवमा भानुभक्त ढकाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, खगराज अधिकारी र महेश बस्नेत छन् ।
यसैगरी ईश्वर पोखरेल समूहमा उपाध्यक्षमा अरूण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे र परशुराम मेघी गुरूङ रहेका छन् । महासचिवमा सुरेन्द्र पाण्डे तथा योगेशकुमार भट्टराई रहेका छन् । सचिव पदका लागि पोखरेल समूहबाट विनोद ढकाल, ठाकुर गैरे, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा र रचना खड्का रहेका छन् ।
निर्वाचनको संशोधित कार्यक्रमअनुसार उम्मेदवारको दरखास्त फाराम दर्ता अपराह्न साढे ३ बजे र प्रारम्भिक नामावली प्रकाशन ४ बजेलाई तोकिएको छ । त्यसपछि उम्मेदवारहरुको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरू हुनेछ । उजुरी दिने समय दिउँसो ४ देखि साढे ४ बजेसम्म तोकिएको छ ।
उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि साेमबार साँझ साढे ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि पुस १ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने गरी कार्यतालिका तयार पारिएको छ । २ हजार २ सय ६२ जना प्रतिनिधिले नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।