
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभइ मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाउनुभएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सरकारको ध्यान निर्वाचन गराउनेतिर नभएको आरोप लगाउनुभएको हो । सरकारले मन्त्री बनाउन भ्रष्टहरू खोजेर हिँडेको उहाँले बताउनु भयो । छानीछानी भ्रष्टहरूलाई मात्रै मन्त्री बनाएको उहाँको दाबी छ । उहाँले वर्तमान सरकारमा केही मन्त्रीहरू भने काम गर्नेजस्ता देखिएको भए पनि सरकारको मुख्य काम निर्वाचनतर्फ भने कोही केन्द्रित नभएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकार चुनाव गराउने बाटोमा छैन । मन्त्रीमण्डल विस्तारमा केन्द्रित छ । ती पनि भ्रष्ट जो-जो छन्, तिनीहरूलाई मात्रै खोज्दै हिँडेको छ । भर्खरै मैले सुन्दै थिएँ, अब विवादीत मान्छेहरू आएका छन् । केही मान्छेहरू काम गर्नेजस्ता पनि देखिएका छन् । तर पनि सरकार अहिले चुनाव गराउने अवस्थामा गएको छैन । हामी आफ्नो महाधिवेशनसहित चुनावको तयारीमा तिव्र गतिमा लागेका छौँ ।’
उहाँले कांग्रेसले आम निर्वाचनसँगै महाधिवेशनको समेत तयारी गरिरहेको जानकारी दिनुभयो । महाधिवेशनको लागि हाल क्रियाशील सदस्य नविकरण र वितरणको काम भइरहेको उहाँले बताउनु भयो ।