
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले झनै शक्तिशाली भएर उठेको बताउनुभएको छ ।
११औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव पोखरेलले खरानीबाट उठेर एमाले अझै शक्तिशाली बनिरहेको बताउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गतेको घटनापछि एमालेमाथि संगठित र सुनियोजित रूपमा प्रहार भइरहेको बताउनु भयो ।
उहाँले एमाले सकियो भन्ने कतिपयलाई लागिरहेको भए पनि महाधिवेशनमा उपस्थित संख्याले एमाले झनै शक्तिशाली र बलियो बनेर आएको स्पष्ट भएकाे बताउनु भयो । एमाले सरकारबाट मात्रै बाहिरिएको भन्दै नेपाली जनताको हृदयमा गहिरोसँग बसेको उहाँले बताउनु भयो ।
भदौ २३ र २४ पछि अध्यक्ष ओलीमाथि आक्रमण भइरहेको उहाँले बताउनु भयो । नेपालको इतिहासमा भदौ २३ र २४ गतेको घटना नवयुवाहरूको भावनामाथि खेल्ने देशविरोधी तत्वहरूको काम भएको आराेप समेत उहाँले लगाउनुभयाे । नेपालको राजनीतिक आन्दोलनको इतिहासमा ठूला आन्दोलनको नेतृत्व आफूहरूले गरेको उहाँकाे दाबी छ ।
महासचिव पोखरेलले महाधिवेशनमा नवयुवाहरूलाई नेपालको आधारस्तम्भका रूपमा खडा गर्ने बताउनु भयो । बन्दसत्रका माध्यमबाट पार्टीको नीतिलाई कार्यान्वयन गर्नसक्ने सक्षम नेतृत्व निर्वाचित गर्ने उहाँकाे भनाइ छ ।