काठमाडौं । जेन-जी घटनाको जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीसँग बयान लिएको छ ।
जाँचबुझ आयोगको कार्यालय सिंहदरबारमा प्रहरी प्रमुख कार्कीले शुक्रबार करिब १ घन्टा बयान दिनुभएको हो । कार्की साढे ३ बजे आयोगमा उपस्थित हुनुभएको थियो । कार्की अबको केही दिन आयोगमा उपस्थित भएर बयान दिनुहुनेछ ।
कार्की जेन-जी आन्दोलनका बेला काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्वमा हुनुहुन्थ्यो । कार्कीसँग के कारणले जेन-जी आन्दोलनका क्रममा मानवीय क्षेति भयो, कस्तो आदेश कहाँबाट थियो गोली चलाउने लगायतमा रहेर बयान लिइएको आयोग स्रोतले जनाएको छ ।
आजै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ र तत्कालिन काठमाडौंका सिडिओ छबि रिजालसँग पनि बयान लिइएको छ । आयोगले सेनालाई पनि बयानका लागि बोलाएको छ । अब तत्कालीन गृहमन्त्री रमेश लेखक र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने आयोगको तयारी छ ।
सरकारले कार्यादेश थप गरेको विषयमा भने आयोगले असन्तुष्टि जनाएको छ । आयोगले अहिलेसम्म जेन-जी आन्दोलनमा जोडिएका डेढसय बढीसँग बयान लिइसकेको छ । आयोगको समयसीमा आगामी पुस ८ गते सकिँदैछ ।