काठमाडौं । जेन-जी आन्दोलनपछि हुन लागेको नेकपा एमालेको ११औं महाधिवेशनले युवाहरूलाई नेतृत्वमा कति ल्याउँछ ?
अहिले पार्टी कार्यालय च्यासलमा बढेको चहलपहलमा उमेर पाकेका नेता कार्यकर्ताभन्दा ४० मुनिका युवाहरूको गतिविधि बढी छ। उनीहरुले केन्द्रीय समितिमा युवाको प्रतिनिधित्व बढाउनुपर्ने बहसलाई जबरजस्त बनाइरहेका छन्। अनेरास्ववियु युवा संघलगायत विभिन्न जनवर्गीय संगठनबाट राजनीति गरेका ४० मुनिका युवाहरु केन्द्रीय समितिमा प्रवेशका लागी प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा पार्टीको केन्द्रीय समितिमा ४० वर्षमुनिका युवाको प्रतिनिधित्व बढाउन युवाहरुले दबाब बढाएका छन्। पार्टीमा नेताहरूले ४० वर्ष मुनिका युवाका लागि १० प्रतिशत आरक्षणको व्यवस्था हुन सक्ने बताइरहेका बेला कम्तिमा पनि २० प्रतिशत युवाका लागी सिट सुरक्षित गर्नुपर्ने माग युवाहरुको छ ।
एमालेको यो महाधिवेशनबाट २ सय ५१ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था विधानमा छ । २ सय ५१ जनामा १० प्रतिशत ४० वर्षमुनिका युवाहरू निर्वाचित हुँदा २५ जना युवाहरू एमालेको केन्द्रीय सदस्य हुनेछन् । युवाले माग गरेबमोजिम २० प्रतिशत हुँदा त्यो संख्या ५० हुनेछ। महाधिवेशनका लागि प्रतिनिधिका रुपमा छनोट हुनेमध्ये ४० मुनिका कार्यकर्ताको संख्या बढेसँगै केन्द्रीय समितिमा युवाको प्रतिनिधित्वका लागि उनीहरुले दबाब बढाएका हुन्।
एमालेले महाधिवेशनका लागी प्रत्येक निर्वाचन क्षेत्रबाट क्लष्टर नै छुट्याएर ४० वर्ष मुनिका १ सय ६५ जना युवा महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ । खुला र विभिन्न क्लष्टर गरी करिब ४ सयको हाराहारीमा युवाहरु यसपटक महाधिवेशन प्रतिनिधिका रूपमा सुनिश्चित भइसकेका छन् ।
पार्टीको यो विधिले कम्तिमा १६५ जना युवा महाधिवेशन प्रतिनिधि बन्दै नेतृत्व छानिने र छान्ने प्रक्रियामा सामेल हुने निश्चित हुदा युवा प्रतिनिधिहरूले अनुभव र आकाङ्क्षालाई समेटेर पार्टीले नेतृत्व छनौट गर्नुपर्ने बताइरहेका छन् । युवालाई नेतृत्वमा पुर्याउने अभ्यास एमालेले विभिन्न फोरमहरूमा विगतदेखि नै गरिरहेकोले अहिले पार्टीको मूल प्रवाहमा आरक्षण गरेर युवामैत्री पार्टी भएको नयाँ सन्देश भएको उनीहरूको धारणा छ ।
११औं महाधिवेशनबाट केन्द्रीय कमिटीमा पहिलोपटक उल्लेख्य संख्यामा युवाहरूले प्रवेश गर्ने प्रयास थालेका छन् । उनीहरूले ४० वर्षमुनिको युवा प्रतिनिधित्व विधानमा सुनिश्चित गर्न पनि संगठित रूपमै पार्टी नेतृत्वलाई दबाब दिइरहेका छन् । ६० भन्दा बढी युवा नेताहरूले पदाधिकारीदेखि केन्द्रीय सदस्य पदमा दाबी सार्वजनिक गर्दै आन्तरिक प्रतिस्पर्धालाई समेत तीव्र बनाएका छन् ।
पहिलोपटक केन्द्रीय कमिटीमा डेब्यु गर्ने तयारी गर्नेमा अनेरास्ववियुका पूर्वविद्यार्थी र युवा संघका नेताहरू छन् । जेन-जी आन्दोलनपश्चात् हुन लागेको महाधिवेशनमा युवा पुस्ताको भावना र मर्मलाई एमाले महाधिवेशनले कसरी लिन्छ भन्ने चासोको रूपमा हेरिएको छ । युवा नेताहरू भने युवाको पार्टी र युवाले स्वीकार्ने पार्टी बनाउनका लागि पार्टीले केन्द्रीय सदस्यमा आफूलाई स्थान दिनुपर्ने र प्रतिस्पर्धा गर्न तयार रहेको बताउँछन् ।