
काठमाडौं । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्यायलाई यथाशिघ्र निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दश वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडितको न्याय र परिपूरणको विषय सबैको साझा विषय भएको बताउनु भयो ।
नेपालको मानव अधिकारको कुरा गर्दा संक्रमणकालीन न्यायको विषयलाई अलग गर्न नमिल्ने उहाँको भनाइ छ । आयोगले अनुसन्धान गरी सरकारलाई गरेका सिफारिस कार्यान्वयन नहुनु चिन्ताको विषय भएको पनि उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष मगरले आयोगको सिफारिस कार्यान्वयन नहुँदा पीडितले क्षतिपूर्ति प्राप्त गर्न नसक्ने र मानव अधिकार उल्लंघनका पीडितलाई कानूनको दायरामा ल्याउन नसक्दा दण्डहिनताले प्रश्रय पाएको बताउनु भयो ।
मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित बुधबार संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।