रामेछाप नगरपालिकाको पहिलो चौमासिक प्रगति : चालू खर्च २१.८७ र पुँजीगत १.७३ प्रतिशतमा सीमित

मंसिर २४, २०८२ |नवराज श्रेष्ठ
रामेछाप नगरपालिकाको पहिलो चौमासिक प्रगति : चालू खर्च २१.८७ र पुँजीगत १.७३ प्रतिशतमा सीमित

रामेछाप । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिसम्म रामेछाप नगरपालिकाले चालू तथा पुँजीगत दुवैतर्फ सुस्त गतिमा बजेट खर्च गरेको देखिएको छ। 

बुधबार रामेछाप नगरपालिका-१ गोठ गाउँमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले आर्थिक प्रगतिबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयाे। उहाँका अनुसार चालूतर्फ विनियोजित ५१ करोड ८३ लाख ३७ हजार ९७० रुपैयाँमध्ये ११ करोड ३३ लाख ९५ हजार रूपैयाँ अर्थात् २१.८७ प्रतिशत खर्च भएको छ। 

पुँजीगततर्फ विनियोजित ३३ करोड २७ लाख ९ हजार ९ सय रूपैयाँमध्ये ५७ लाख ६४ हजार ८२४ रूपैयाँ मात्र खर्च भएको छ, जसको प्रगति १.७३ प्रतिशतमा सीमित छ। आन्तरिक आम्दानीतर्फ नगरपालिकाले चालू वर्षमा १ करोड १७ लाख ७४ हजार ७०० रुपैयाँ उठाउने लक्ष्य राखेकोमा पहिलो चौमासिकसम्म ३५ लाख ४४ हजार ५२ रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन ३०.१० प्रतिशत हो।

पूर्वाधार योजनातर्फ यसवर्ष २ सय ३४ आयोजना रहेकोमा पाँच वटा योजना ठेक्कामार्फत अघि बढेका छन्। ६ वटा योजनाका कोटेसन निकालिएका छन् भने ५२ वटा योजना उपभोक्ता समितिमार्फत सञ्चालनका लागि सम्झौता भइसकेको छ। पाँच वटा योजना सम्पन्न भई भुक्तानीसमेत गरिएको चापागाईँले जानकारी दिनुभयाे।

सुनुवाइमा सहभागीहरूले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषिलगायतका विषयमा प्रश्न उठाएका थिए। सहभागीका प्रश्नहरूको जवाफ नगर प्रमुख लव श्री न्यौपाने, उपप्रमुख बालकुमारी कार्की, वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत चापागाईँ लगायतका सरोकारवालाले दिए।

कार्यक्रममा नगरपालिकाले प्रदान गरिरहेका सेवाहरू, योजनाको प्रगति, आर्थिक अवस्था तथा आगामी कार्यदिशाबारे नागरिकसँग प्रत्यक्ष संवाद गर्दै स्पष्ट रिपोर्ट प्रस्तुत गरिएको थियो।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।