
काठमाडौं । नयाँ भन्सार ऐनका विभिन्न प्रावधानमा असहमति जनाउँदै देशभर पेन-डाउन गरिरहेका भन्सार एजेन्ट र भन्सार विभागबीच बुधबार पनि वार्ता हुँदैछ।
यसअघि मंगलबार भएको वार्ता टुंगोमा पुग्न सकेको थिएन । २०८२ मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐनका केही प्रावधानप्रति विरोध जनाउँदै भन्सार एजेन्ट महासंघको आह्वानमा भन्सार एजेन्टहरूले पेन-डाउन गरेका हुन् । आन्दोलनका कारण मुलुकभरका भन्सारमा जाँचपास अवरूद्ध भएका छन् ।
नयाँ ऐनमा दण्ड-जरिवाना कडा भएको तथा जाँचपासका कागजात एवं प्रक्रिया अव्यावहारिक भएको महासंघको आरोप छ । यस्तै ऐनले अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार प्रक्रियालाई सहज बनाउनेभन्दा उल्टो भन्सार एजेन्टको पेसागत अधिकार, उद्योग–व्यवसाय र वैध व्यापारलाई नै हतोत्साहित गर्ने अवस्था सिर्जना भएको महासंघको आरोप छ ।
भन्सार ऐन, २०८२ को मस्यौदा तयार पार्ने चरणदेखि नै महासंघले दण्ड-जरिवाना, इजाजतपत्र नविकरण, निलम्वन प्रक्रिया, बैंक जमानतलगायतका विषय समावेश गर्न माग गर्दै आएको थियो । तर लागू भएको ऐनले अनावश्यक दण्ड-जरिवाना थपेको र तजबीजी अधिकार बढाएको महासंघले आरोप लगाएको छ ।
पेन-डाउन आन्दोलन आइतबार वीरगञ्ज भन्सारबाट सुरू भएको थियो । दोस्रो दिन सोमबार भैरहवा भन्सार पूर्णरूपमा ठप्प रह्यो भने तेस्रो दिन मंगलबार देशभरका सम्पूर्ण भन्सार कार्यालयका सेवाहरु बन्द गरिएको महासंघले जनाएको छ ।