रूकुम । आम निर्वाचनको घोषित मिति फागुन २१ नजिकिँदै गर्दा चुनावी बहस र छलफल पनि बढ्दै जान थालेका छन् ।
रूकुम पश्चिममा चुनावी माहोल के कस्तो छ त ?
सरकारले आम निर्वाचन गर्ने भनेर तय गरेको मिति फागन २१ नजिकिँदै गर्दा चुनावको चर्चा-परिचर्चासँगै यसको माहोल पनि बन्दै जान थालेको छ । राजनीतिक भेला-बैठक होऊन् या सभा-समारोह वा चिया चौतारीका गफगाफ सबैतिर चुनाव केन्द्रित बहस, छलफल र कुराकानीहरू हुने गरेका छन् । यसले आसन्न निर्वाचनप्रति आमनागरिकको चासो र निरन्तरतालाई कही न कही प्रतिनिधित्व गर्दछ ।
उसो त तोकिएकै मितिमा चुनाव हुने नहुने वा संसद् पुर्नस्थापनाको सम्भावनाबारे पनि विभिन्न अड्कलबाजीहरू हुने गर्दछन् । त्यसका बाबजुद चुनाव केन्द्रित बहस दिनानुदिन बढ्दो छ । आसन्न निर्वाचनमा भाग लिन धेरै नयाँ दलहरू दर्ता भएका छन् । तर रूकुममा पुरानै पार्टीहरू कांग्रेस, एमाले र एकतापछि बनेको नेकपा एवं रास्वपालगायतकै चहलपहल देखिन्छ ।
नयाँ पार्टीहरूको प्रभाव के-कसरी हुने हो यो अहिले नै भन्न सकिने अवस्था छैन । तर नवयुवाहरू यो चुनावबाट केही नयाँ र अझै राम्रो हुनेमा निकै आशावादी छन् । जेन-जी आन्दोलनपछि जुन प्रकारको राजनीतिक परिदृश्यको निर्माण भयो त्यसले देश निर्धारित समयभन्दा दुई वर्ष अगाडि नै आमनिर्वाचनमा होमिने अवस्था आएको छ ।
लोकतन्त्रका लागि निर्वाचन एक उत्सव हो । यसलाई जहिले जसरी हुन्छ उत्सवकै रूपमा लिएर अघि बढ्ने अनि हाम्रो शासन-व्यवस्थालाई बलियो बनाउन लागिपर्ने आम मतदाताको जिम्मेवारी हो ।