युवा पुस्ताको चाहनालाई पुरा गर्न फागुन २१ निर्वाचनलाई सफल बनाउनु पर्ने राष्ट्रपति पौडेलको भनाइ

जेन-जी आन्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्न आवश्यक
मंसिर २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
युवा पुस्ताको चाहनालाई पुरा गर्न फागुन २१ निर्वाचनलाई सफल बनाउनु पर्ने राष्ट्रपति पौडेलको भनाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन-जी आन्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्न र युवा पुस्ताको चाहनालाई पुरा गर्न फागुन २१ गतेको निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै अहिलेको परिवर्तित घटना र युवाहरूको भावना सम्बाेधन गर्नका लागि पनि फागुन २१ गतेको निर्वाचनलाई सफल बनाउनु पर्ने बताउनुभएकाे हाे । राष्ट्रपति पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको समेत बताउनुभयाे । 

नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई सोहीअनुसार रूपान्तरण गर्दै लैजान जरूरी रहेको उहाँकाे भनाइ थियाे । संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाे समेत उहाँले उल्लेख गर्नुभयो । 

राष्ट्रपति पौडेलले स्थानीय तह नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्ने बताउनु भयो । नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.