११औं महाधिवेशनको पूर्वसन्ध्यामा एमालेको रक्तदान कार्यक्रम

मंसिर १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
११औं महाधिवेशनको पूर्वसन्ध्यामा एमालेको रक्तदान कार्यक्रम

काठमाडौं । पार्टीको ११औं महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा (एमाले)ले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा वृहत रक्तदान कार्यक्रम सञ्चालन भएको हो । मध्यान्ह १२ बजेदेखि सुरू भएको कार्यक्रम अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण गरी सयौंको संख्यामा सहभागी भएका थिए । 

रक्तदानमा पार्टीका वरिष्ठ नेता, केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा काठमाडौं उपत्यकाका विभिन्न पालिकाका जनप्रतिनिधिहरूले पनि सक्रिय रूपमा सहभागिता जनाएका छन् । मानवीय सेवालाई पार्टीको अभियानको रूपमा अघि बढाइएको नेताहरूले बताएका छन् । 

रक्तदानलाई महाधिवेशनको तयारीसँग जोडेर हेर्नुपर्ने उनीहरूको भनाइ छ । एमालेको ११औं राष्ट्रिय महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन पार्टीले देशभर विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । 

रक्तदान कार्यक्रम पनि त्यसैको एक हिस्सा भएको एमालेले जनाएको छ । महाधिवेशन नजिकिँदै गर्दा एमालेले “जनताको जनवादः समृद्ध नेपालको बलियो आधार” भन्ने नाराका साथ संगठन सुदृढीकरण, नीति तथा विचारको बहस र नेतृत्व चयनको तयारीलाई तिव्र पारेको छ । रक्तदान जस्ता कार्यक्रमले पार्टीको सामाजिक छविलाई थप उज्यालो बनाएको नेताहरूकाे दाबी छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.