
धनुषा । जिल्ला अदालत धनुषाले मुद्दा फैसला गरेर सफाइ दिएको दुई वर्षपछि मधेशको अति नै पिछडिएको समुदायका चार जनाले धरौटी फिर्ता पाएका छन् ।
धनुषाको हंसपुर नगरपालिका भतहीमा बाँसको सामग्री बनाइ गुजारा गर्दै आउनु भएका भरत धनिकार, प्रदीप मल्लिक, उपेन्द्र धनिकार र राजेश धनिकारले सफाइ पाएको दुई वर्षपछि धरौटी फिर्ता पाउनुभएको हो । मुद्दामामिलामा परेपछि अदालतको आदेशअनुसार ऋण गरेर बुझाएको धरौटी रकम फिर्ता पाएपछि उनीहरू निकै खुसी देखिएका छन् ।
२०७९ साल साउन ३१ गते आफ्नै समुदायभित्र भएको झगडा र गाली गलौजलाई लिएर घटना भएको ६ महिनापछि कुटपिट गरी बुहारीको गर्भ तुहाइदिएको गम्भीर आरोप लगाउँदै छिमेकी जगतारन देवी डोमिनले चारै जनामाथि जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गराउनुभएको थियो ।
अदालतको आदेशबमोजिम भरत र प्रदीपले साढे एक-एक लाख, उपेन्द्रले पचहत्तर हजार र राजेशले पचास हजार धरौटी बुझाउनुभएको थियो । जिल्ला अदालत धनुषाका तत्कालीन न्यायाधीश हरिकृष्ण श्रेष्ठको इजलासले दाबी नपुगेको भन्दै २०८० माघ २३ गते चारै जनालाई निर्दोष रहेको फैसला सुनाएको थियो ।
त्यसको एक वर्ष पछि उच्च अदालत जनकपुरले पनि जिल्लाकै फैसलालाई सदर गरिदिएको थियो । कान्तिपुर टेलिभिजनले गाउँमै पुगी डोम र धनिकारहरूले सफाइ पाएर पनि धरौटी फिर्ता पाउन अदालतको चक्कर काटिरहेको समाचार प्रशारण गरेको थियो ।
सम्बन्धित समाचार :