
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको अनियमितता प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरेको छ ।
अख्तियारले नलिन्चोक हेलिप्याड निर्माण प्रकरणमा अधिकारीसहितलाई पक्राउ गरेर विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दामा अधिकारीसहित उड्डयन प्राधिकरण निर्देशक ईन्जीनियर मुरारी भण्डारी, ईन्जीनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नरविक्रम थापा, अभियन्त्र कनसल्टेन्ट प्रालिका प्रबन्ध निर्देशक विजय थापा, प्राइभेट ईन्जिनियर गुरूदत्त अधिकारी र अभियन्त्र कन्सल्टेन्ट प्रालिको केन्द्रीय कार्यालयलाई प्रतिवादी बनाइएको छ ।
मुद्दामा अख्तियारले १३ करोड ५७ लाख ४६ हजार ३ सय ३१३ रूपैयाँ बिगो मागदाबी गरेको छ । प्राधिकरणले भक्तपुरको नलिन्चोकमा आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा अनियमितता भएको विषयमा उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको छ।
नलिन्चोकमा हेलिप्याड निर्माणको औचित्यमाथि पनि प्रश्न उठ्दै आएको छ। प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन नगरी हेलिप्याड निर्माण गरेको समेत उजुरीमा उल्लेख थियो। हेलिप्याडको उद्घाटन ७ असार २०८१ मा तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङ र महानिर्देशक प्रदीप अधिकारीले गरेका थिए।