पश्चिम एसिया तनावले विश्वबजारमै रासायनिक मलमा ३० प्रतिशत मूल्यवृद्धि

फाल्गुन ३०, २०८२ |सुमन पन्थ
पश्चिम एसिया तनावले विश्वबजारमै रासायनिक मलमा ३० प्रतिशत मूल्यवृद्धि

काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वले नेपालको पर्यटन, आयात निर्यात, रेमिट्यान्ससँगै कृषिमा पनि असर पर्ने देखिएको छ । 

अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा दुई सातामै ३० प्रतिशतले वृद्धि भएर प्रतिटन ७ सय ५० डलरसम्म पुगेपछि नेपालमा पनि असर पर्ने देखिएको हो । इन्धनसँगै होर्मुज जलमार्ग भएर आउने रासायनिक मलको आयात पनि अवरूद्ध हुँदा एसियाली मुलुककै खाद्य उत्पादन प्रभावित हुने जोखिम बढेको छ ।

पश्चिम एसियामा द्वन्द्व सुरू भएपछि विश्वभर इन्धन संकटसँगै रासायनिक मलमा पनि उच्च मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा दुई सातामै ३० प्रतिशतले वृद्धि भएर युरिया प्रतिटन ६ सय ५० र डीएपी ७ सय ७५ डलरसम्म पुगेको छ । 

यही गतिमा मूल्य बढ्ने हो भने नेपालले वार्षिक ३ लाख टन पनि किन्न नसक्ने कृषि सामग्री कम्पनीका प्रबन्धक विष्णुप्रसाद पोखरेलले बताउनुभयो । नेपालमा वार्षिक ६ देखि ७ लाख टन मलको माग हुने गरेको छ । अहिले कृषि सामग्री कम्पनी तथा साल्ट टेडिङ कर्पोरेसनसँग १ लाख ६० हजार टन डीएपी र युरिया मौज्दात रहेको छ । 

हालसम्मको खरिदले असारसम्म धाने पनि अब साउनपछि हुने मलको माग कसरी सम्बाेधन गर्ने भनेर छलफल भइरहेको अर्थ तथा कृषि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । चालु आर्थिक वर्षमा करिब २८ अर्बको मलका लागि बजेट छुट्याइएको छ, जसमध्ये अहिलेसम्म ३ लाख ९७ टन आइसकेको छ । 

नेपालका आपूर्तिकर्ताले पश्चिम एसियाका मुलुकबाट आपूर्ति गरेर नेपालमा ल्याउने गरेका छन् । युद्धका कारण इन्धनसँगै होर्मुज जलमार्ग भएर आउने रासायनिक मलको आयात पनि प्रभावित भएको छ । यो अवरोधले दक्षिण एसियाली मुलुकको हिउँदे तथा वर्षे बाली प्रभावित हुने जोखिम बढको छ । यसले कृषिमा आश्रित उद्योग र खाद्य सुरक्षामा समेत चुनौती थप्ने विश्लेषण हुन थालेको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।