काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनको एक सय दिनको ‘काउन्टडाउन’ सुरू भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्मका लागि तोकेको छ । मंगलबारसम्म ६८ वटा दल दर्ता भएका छन् । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै आएको नेकपा एमालेले पनि दल दर्ता गराएको छ । अब विस्तारै चुनावको वातावरण बन्दै गएको दाबी निर्वाचन आयोगले गरेको छ । आयोगले मतदाता नामावली अद्यावधिक गर्नेदेखि निर्वाचनको अन्य तयारीलाई पनि तीव्रता दिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै आएको एमालेले चुनावमा जाने औपचारिक निर्णय नगरे पनि दल दर्ता गराएको हो । यसले चुनावमा एमाले सहभागी हुँदैन कि भन्ने संशय हटेको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्म तोकेको छ । मतदाता नामावली संकलनको काम सकिसकेको आयोगले नामावली अद्यावधिक गर्ने काम पनि अन्तिम चरणमा पुर्याएको छ । सबै नामावली अध्यावधिक गरेपछि फागुन २१ गते हुने चुनावमा सहभागी हुने मतदाताको तथ्यांक प्राप्त हुनेछ ।
पछिल्लो मतदाता नामावली संकलन थाल्नुअघि १ करोड ८१ लाख ८६ हजार मतदाता रहेकोमा अब हुने चुनावका लागि थप ८ लाख ३७ हजार ९४ जना मतदाता थपिएका छन् । यसैगरी दल दर्ताको काम सकिएलगत्तै आयोगले मतपत्रको नमूना बनाउनेदेखि निर्वाचनका लागि चाहिने आवश्यक कागजात छपाइ सुरूको काम तयारी गर्नेछ ।
आयोगले निर्वाचन व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृतसहित मतदान अधिकृतसमेत तोक्नेछ । मतदाता शिक्षालगायत निर्वाचन पर्यवेक्षकका लागि समेत आयोगले सार्क मुलुकसहित अन्य देशका निर्वाचन अधिकारीहरूलाई बोलाउने तयारी थालिसकेको छ ।
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन भने अझै निर्णय भएको छैन । सरकारले आवश्यक कानुन संशोधन गरिदिएपछि मात्र यसबारे निर्णय गर्न सकिने आयोगको भनाइ छ । निर्वाचनमा दलहरूको भूमिका नै सबैभन्दा महत्वपूर्ण हुन्छ । दलहरूले चुनावी सुरक्षालाई लिएर प्रश्न उठाइरहेका छन् ।
अब सरकार र आयोगले दलहरूलाई विस्वस्त बनाउँदै निर्वाचनको प्रचारमा लगाउँदै मतदातालाई समेत सचेत गराउनुपर्ने छ । निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता गराउन आयोगले अभियान नै सञ्चालनको तयारीसमेत गरेको छ । यसअघिको आमनिर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको थियो ।
त्यसअघि २०७४ सालको आम निर्वाचनमा ६८ दशमलव ६७ प्रतिशत मत खसेको थियो भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ७८ दशमलव ७४ प्रतिशत मत खसेको थियो । निर्वाचनमा मतदान गर्ने क्रम घटिरहेका बेला आगामी निर्वाचनमा सुधार ल्याउन पनि आयोगले अहिलेदेखि नै प्रचारको सुरू गर्न लागेको हो ।