विवाहपञ्चमीको मुख्य दिन आज, भारतबाट समेत साधुसन्त र गृहस्थ आश्रमका लाखौं सहभागी

मधेशमा सार्वजनिक बिदा
मंसिर ९, २०८२ |अनिल मिश्र
विवाहपञ्चमीको मुख्य दिन आज, भारतबाट समेत साधुसन्त र गृहस्थ आश्रमका लाखौं सहभागी

जनकपुर । सीता र रामको विवाह भएको सम्झनामा मंगलबार देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी महोत्सव मनाइँदै छ ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा जनकनन्दनी सीताको विवाह भगवान रामसँग मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन भएको स्मरणमा मिथिलाबासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले भाँचेपछि मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । 

रामायणअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयम्बरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी-बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवी-देवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् । 

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार मटकोर, तिलकोत्सव, स्वयम्बर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यता अनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्‍याइन्छ । 

त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ । रंगभूमिमा स्वयम्बर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता, रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । 

यस अवसरमा निस्केको भगवानको डोला शोभा यात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन समेत सहभागी हुने गर्छन् । यस अवसरमा भजन कीर्तन, रामलीला, झााकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।