
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका विषयमा अभिव्यक्ति दिँदा गम्भीर हुन दलका नेताहरूलाई आग्रह गर्नुभएको छ ।
रूपन्देहीको भैरहवामा मंगलबारदेखि सुरू भएको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले दलहरूले फरार कैदी र लुटिएका हतियारलाई ‘थ्रेट’का रूपमा प्रचार गरे पनि सरकारले तिनीहरूको नियन्त्रणमा क्रियाशीलता बढाएको बताउनुभयो ।
उहाँले जतिसक्दो छिटो चुनाव पूरा गरेर निर्वाचित सरकारलाई नेतृत्व हस्तान्तरण गर्न सरकार लागिपरेको पनि बताउनुभयो । विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्नेहरूलाई काम र भूमिकाबाट जवाफ दिने उल्लेख गर्दै उहाँले छोराछोरी पुस्ताले प्रश्न उठाइसकेपछि पनि सुधार नहुने हो भने मुलुकमा अर्को दुर्घटना हुन सक्ने बताउनुभयो ।
निर्वाचन पूरा गराउन रहेका चुनौतीको विश्लेषण, चुनाव सम्पन्न गर्न देखिएका चुनौती चिर्न आवश्यक रणनीति र तयारी पूरा गर्न लुम्बिनी प्रदेशबाट सुरक्षा बैठक सुरू गरिएको उहाँले जानकारी दिनुभयो । लुम्बिनीबाट बैठक सुरू गर्नुको कारण बुद्धको शान्तिको सन्देश फिँजाउनु रहेको उहाँको भनाइ छ ।
शान्ति सुव्यवस्था कायम गर्न र निर्वाचनको वातावरण बनाउन सरकारले सातै प्रदेशमा सुरक्षा बैठक गर्न लागेको छ । यस्ता बैठकमा सुरक्षा चुनौती विश्लेषण गरेर त्यहीअनुसार सुरक्षा संयन्त्र तयार गरिने पनि गृहमन्त्री अर्यालले बताउनुभयो । गृहमन्त्री अर्यालले लुम्बिनी प्रदेशमा पनि अहिलेसम्म ७८ जना फरार व्यक्ति नियन्त्रणमा लिइएको उल्लेख गर्दै हतियार खोज्नका लागि सुरक्षा निकाय परिचालन गरिएको बताउनुभयो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनता अहिले पनि भयभीत अवस्थामा रहेको उल्लेख गर्दै सुरक्षाकर्मीको मनोबल बढाउन जरुरी रहेको बताउनुभयो । अहिले अराजक समूह राज्यका निकायलाई कमजोर तुल्याउन सक्रिय रहेकाले ढुक्क भएर कार्य सम्पादन गर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।