जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायले गैरकानुनी बल प्रयोग गरेको ह्यूमन राइट्स वाचको निष्कर्ष

निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाहीको दायरामा ल्याउन सुझाव
मंसिर ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
 जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायले गैरकानुनी बल प्रयोग गरेको ह्यूमन राइट्स वाचको निष्कर्ष

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकार संस्था ह्यूमन राइट्स वाचले नेपालमा गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायले गैरकानुनी बल प्रयोग गरेको निस्कर्ष निकालेको छ ।

ह्यूमन राइट्स वाचले हालै रिपोर्ट सार्वजनिक गर्दै आन्दोलनमा सरकार र सुरक्षा निकायको भूमिकाबारे तत्काल विश्वसनीय र स्वतन्त्र छानबिन गर्न आग्रह गरेको छ । प्रदर्शन दबाउन प्रहरीले रबर बुलेट, वास्तविक गोली, अश्रुग्यास र अत्यधिक बल प्रयोग गरेकोसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सुरक्षाकर्मीहरूले आवश्यकभन्दा धेरै बल प्रयोग गरेको र केही घटनामा घाइते प्रदर्शनकारीहरूलाई समेत कुटपिट गरेको जनाइएको छ । युवाहरूले स्वस्फूर्त रूपमा सुशासनका पक्षमा आन्दोलन गरे पनि केही समूहहरूले सङ्गठित हिंसा फैलाएको आशं पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । रिपोर्टमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र केही राजनीतिक समूहहरूको भूमिकाबारे विस्तृत अध्ययन भइरहेको पनि जनाइएको छ ।

ह्युमन राइट्स वाचकी एसिया क्षेत्रकी नायब निर्देशक मीनाक्षी गांगुलीले सरकारले समय तोकेर निष्पक्ष र पारदर्शी अनुसन्धान गर्नुपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । गत भदौ २३ र २४ को हिंसात्मक झडपमा कम्तिमा दुई दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु, सयौँ घाइते र व्यापक निजी तथा सरकारी सम्पत्ति नष्ट भएको तथ्य रिपोर्टमा औंल्याइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.