
जनकपुर । सुरक्षित, मर्यादित र शान्तिपूर्ण वातावरणमा साताव्यापी सिताराम विवाहपञ्चमी मनाउन स्थानीय प्रशासनले जनकपुरधाममा माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले मंसिर ७ गते अर्थात् आइतबार राति १२ बजेदेखि मंसिर १० गते बुधबार राति १२ बजेसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको हो । उक्त समयावधि भित्र पञ्चकोशी परिक्रमा क्षेत्रको दायाँबायाँ पशुपन्छी काटमार, मासुजन्य पदार्थको उत्पादन, मदिरा बिक्री वितरण र अन्य कुनै प्रकारको नशालु पदार्थ बेच्न नपाउने जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सुचनामा उल्लेख छ ।
मिथिलाको पौराणिक, धार्मिक र सांस्कृतिक पर्वको रूपमा विवाहपञ्चमी स्थापित रहेको छ । मंसिर शुक्ल पञ्चमी तिथिमा त्रेतायुगको झल्को दिने गरी प्रत्येक वर्ष प्राचीन मिथिला र वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाममा साताव्यापी सिताराम विवाहपञ्चमी मनाइन्छ ।