
सिमरा । बिहीबार दिनभर तनावग्रस्त भएको सिमरा क्षेत्रमा साँझपछि भने अवस्था सामान्य बन्दै गएको छ । अपरान्हपछि जेनजी युवाहरू घरफर्किएपछि अवस्था सामान्य बन्दै गएको हो ।
शुक्रवार प्रदर्शन जारी रहने वा नरहने भन्ने कुरा प्रहरी प्रशासनले गर्ने काममा निर्भर रहने उनीहरूले बताएका छन् । प्रशासनले राति ८ बजेसम्मका लागि कर्फ्यु लगाए पनि सिमरा क्षेत्रमा अपरान्हपछि नै आवागमन खुलेको छ । त्यसअघि बिहीबार दिउँसो भने प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि सिमरा क्षेत्रमा दिनभर तनाव भएको थियो । कर्फ्युका बीच पनि प्रदर्शन जारी रहेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।
यसैबीच बुधबार सिमरामा भएको झडपको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जेन–जी समूहले किटानी जाहेरी दिएकामध्ये दुई जनालाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष कैमुद्दिन अन्सारी रहेका छन् ।