
सिमरा । जेन- जी समूह र नेकपा एमालेका कार्यकर्ताबीच सुरु भएको झडपपछि दुई दिनसम्म सिमरा क्षेत्र तनावग्रस्त भयो । दुवै पक्षले एक अर्कालाई आरोप लगाइरहेका छन् ।
बुधबार बारामा जेन–जी र एमालेको छुट्टाछट्टै कार्यक्रम थियो । एमालेको कार्यक्रम परवानीपुरमा तय थियो भने जेन–जी समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको विरोधमा सिमरामा प्रदर्शन गर्ने कार्यक्रम थियो । एमालेको कार्यक्रममा महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सहभागी हुने तय थियो । नेताहरूको स्वागतमा एमालेका कार्यकर्ता सिमरा विमानस्थल हुँदै जाने बाटोमा स्वागत गेट बनाएर बसेका थिए । एमालेका दुवै नेता बुधबार जहाजमार्फत सिमरा जान काठमाडौं विमानस्थल पुगेर बोर्डिङ गरेर उड्नै लागेका बेला सिमराबाट अप्रिय खबर काठमाडौं एयरपोर्टलाई आयो । खबर थियो– एमाले र जेनजी समूहबीच विवाद हुँदा एउटा हुल नै एयरपोर्टमा छिर्यो र विमानस्थलको गेटमा समेत तोडफोड भयो ।
यसअघि यो अवस्था कसरी आयो र त्यसको पृष्ठभूमि के भयो भन्ने जानौं । जेनजीका स्थानीय नेता सम्राट उपाध्यायले अघिल्लै दिन सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए– भोलि सिमरा चोकमा १० बजे जेनजी युथको निवर्तमान सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन भइरहेको हुँदा सम्पूर्णलाई आउन अनुरोध गर्दछौं । उपाध्यायले बुधबार बिहान फेरि उक्त स्टाटस दोहोर्याएर राखेको देखिन्छ ।
त्यसपछि आफ्ना नेतालाई स्वागत गर्न पुगेका एमाले कार्यकर्ता र जेनजी समूह आमने-सामने हुन्छन् । यहाँनेर हामी दुई पक्षका दाबी अलगअलग देखाइ दिन्छौं ।
जेनजी समूह भन्छ– हामीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला एमालेले हामीमाथि हातपात गर्यो
एमालेका कार्यकर्ता भने आफ्ना नेतालाई कार्यक्रममै जान रोकिएको दाबी गर्छन् । उनीहरुले आफ्ना गतिविधि नै गर्न नपाउने हो भनेर प्रश्न उठाएका छन् ।
यसरी तयार भएको थियो सिमरामा देखिने गरी विवादको पृष्ठभूमि ।
त्यसपछि एमाले नेताहरू सिमरा पुग्न पाएनन् । बुधबार बिहान ११ बजेतिर एमाले नेताको स्वागतका लागि पर्खिएका युवा र प्रदर्शनमा उत्रेका जेन–जी युवाहरूबीच एयरपोर्ट जाने मुख्य बाटो अगाडि ६ लेन सडकमा जम्काभेट भयो र सामान्य भनाभन हुँदै गर्दा एमालेका युवाहरूले आफूहरूमाथि हातपात गरेको जेनजीको दाबी छ । त्यसपछि अवस्था तनावपूर्ण हुँदै प्रहरी र युवाहरूबीच झडपको स्थितिसम्म पुग्यो । आफूमाथि हातपात गर्नेहरू एयरपोर्टमा लुकेरको थाहा पाएका जेन-जीको समूह प्रहरीसँग धक्कामुक्की गर्दै एयरपोर्ट पुग्दा अवस्था झनै तनावग्रत भएर प्रहरीले अश्रुग्यास हान्यो । त्यसपछि साढे १२ बजे प्रशासनले कर्फ्यु लगायो । आफूमाथि हातपात गर्ने एमालेका कार्यकर्ता पक्राउको माग गरि निषेधाज्ञाको अवज्ञा गर्दै जेनजीले साँझसम्म प्रदर्शन जारी राखे । प्रहरीले दोषीलाई पक्राउ गरी कार्यवाही गर्ने प्रतिबद्धता जनाएपछि अवस्था विस्तारै सामान्य भयो ।
तर उनीहरूले बिहीबार बिहान १० बजेभित्र दोषी पक्राउको शर्त राखेका थिए । कोही पक्राउ नपरेपछि बिहीबार बिहान १० बजेदेखि फेरि जेन–जी प्रदर्शनमा उत्रिए । त्यसक्रममा १२ बजे फेरि झडप भयो जसमा जेनजीतर्फ ४ र प्रहरीतर्फ ६ जना घाइते भए । प्रशासनले फेरि कर्फ्यु जारी गर्यो । यसबीचमा प्रहरीले किटानी जाहेरी परेकामध्ये वडा नम्बर २ का एमालेका अध्यक्ष धनबहादुर श्रेष्ठ र ६ नम्बर वडाका एमाले अध्यक्ष क्यामुदिन अन्सारीलाई पक्राउ गरेको छ । तर जेनजी युवाले उजुरी दिएका ९ जनालाई नै पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । बिहीबार जिल्ला कमाण्ड पोष्टको बैठक बसेर अवस्था सामान्य बनाउन जेनजी युवालाई वार्ताका लागि बोलाएको छ । बिहीबार साँझदेखि भने सिमराको अवस्था सामान्य बन्दै गएको छ ।