
बारा । बारा जिल्ला प्रशासनले आज पनि सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जेन-जी युवाले आज पनि प्रदर्शन जारी राखेपछि प्रशासनले सम्भावित क्षति रोक्न अहिले दिउँसो १ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
कर्फ्यु लगाइएको क्षेत्रमा वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोकदेखि दक्षिण जितपुर लल्का पुलसम्म बाटोको दायाँबायाँ ५ सय मिटर र सिमरा विमानस्थलको वरिपरि पाँचसय मिटर रहेको छ । कर्फ्यु लागेको क्षेत्रमा आवतजावत गर्न, भेला जुलस प्रदर्शनलगायतका गतिविधि गर्न निषेध गरिएको छ ।
यसैबीच हिजो सिमरामा जेन-जी र युवा संघबीच भएको झडपको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जेनजी समूहले किटानी जाहेरी दिएकामध्ये दुई जनालाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका २ का धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का कैमुद्दिन अन्सारी रहेका छन् ।
हिजो एमालेका कार्यकर्ता र जेन–जी युवाबीच विमानस्थलनजिक झडप हुँदा सिमराका सबै उडान रद्द भएका थिए । हिजो दुईतर्फी गरेर आठ उडान रद्द गरेको बुद्ध एयरले आज दुईवटा अतिरिक्त उडान थपेको जनाएको छ । प्रदर्शनपछि सिमरा विमानस्थल बन्द गरिएको थियो भने एमालेको कार्यक्रममा सहभागी हुन काठमाडौंबाट हिँडेका नेताहरू त्रिभुवन विमानस्थलबाट फर्किएका थिए ।
यसैबीच जेन-जी युवाहरुले आज पनि सिमरामा प्रदर्शन जारी राखेका छन् । त्यसक्रममा प्रहरी र युवाहरूबीच धकेलाधकेल हुँदा दुवैतर्फ केही घाइते भए पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन ।