नारायणी पुलमा शुक्रबार र शनिबार राति सवारी बन्द हुने

मंसिर ४, २०८२ |राजु चौधरी
नारायणी पुलमा शुक्रबार र शनिबार राति सवारी बन्द हुने

चितवन । चितवन र पूर्वी नवलपरासी जोड्ने नारायणी पुल भोलि शुक्रबारदेखि दुई दिन रातको समयमा सवारी सञ्चालन बन्द हुने भएको छ । नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले एक सूचना जारी गर्दै शुक्रबार र शनिबार राति ११ बजेदेखि विहान ४ बजेसम्म नारायणी पुलमा सवारी संचालनमा रोक लगाइएको जानकारी दिएको हो ।

निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको नारायणी पुलको गैंडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्रे गर्नु परेकाले रातको समयमा नारायणी पुलमा सवारी आवागमन बन्द गरिएको इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । राति पुल बन्द गर्दा बुटवलबाट नारायणघाटतर्फ आउने बस तथा साना सवारी साधनहरुलाई नवलपरासी पूर्व थुम्सीदेखि भेडाबारीमा रोकिने छ भने ट्रक, टेलर, कन्टेनर जस्ता मालबाहक सवारी साधनहरु बेल्डिहादेखि प्रगतिनगरमा रोकिने छ ।

 यस्तै नारायणघाटबाट बुटवलतर्फ जाने बस, मिनी बस, साना चारपाङग्रे सवारी साधनहरुलाई नारायणघाट–मुग्लिन सडक खण्डको रामनगरदेखि जुगेडी र पूर्व पश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि गोन्द्राङ क्षेत्रमा रोकिने आयोजना जनाएको छ । मालबाहक सवारी साधनको हकमा जुगेडीदेखि दासढुंगा र गोन्द्राङदेखि टिकौली क्षेत्रमा रोकिने छ ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।