
ताप्लेजुङ । नेपालमा पर्यटकीय गन्तव्यहरू प्रसस्तै भए पनि प्रचारप्रसार तथा पर्यटनमैत्री संरचनाको अभावमा तिनबाट आशा गरेअनुरूप लाभ लिन सकिएको छैन ।
पूर्वी नेपालका असंख्य पर्यटकीय गन्तव्यबारे पनि सूचना र जानकारीको अभाव छ । साहसिक पर्यटकका लागि ४४ सय मिटर उचाइमा रहेको ताप्लेजुङ याङ्माको छेर्छेन ताल प्रचारप्रसारको पर्खाइमा रहेको यस्तै एउटा गन्तव्य हो । फक्ताङलुङ गाउँपालिका-७ याङमाको बस्ती नजिकमा रहेको यही छेर्छेन ताल अवलोकनका लागि यस वर्ष जम्मा एउटा टोली पुग्यो ।
तापेथोक, लेलेप, फले, घुन्सा हुँदै पुगेको टोली गन्तव्यमा पुगेपछि निकै रमाएको थियो । लम्बाइ, चौडाइ पत्ता लागि नसकेको ताल आँखाले भ्याउन्जेलको भएकाले यहाँ पुग्ने जो कोही रमाउने गरेका छन् । तर यसको प्रचार प्रसारसँगै पयर्टकीय संरचना निर्माण गर्न तीनै तहका सरकारको नजर नपरेको स्थानीयको गुनासो छ ।
ताप्लेजुङ सदरमुकामबाट तीनदेखि चार दिनको पैदल यात्रामा मात्रै पुगिने यो गन्तव्यको यात्रा पूरा गर्न कम्तिमा सात दिन लाग्छ । ४४ सय मिटर उचाइमा भएकाले खानपिन, लत्ता कपडा र अन्य अत्यावश्यक सरसामानको बन्दोबस्त भने राम्ररी गर्नुपर्छ । तर, स्थानीय जनजीवन र मनोरम दृश्य भएका नयाँ गन्तव्यको अवलोकनमा चाह राख्नेहरूका यति कुराको बन्दोबस्त गरेर यात्रा गर्नु कुनै गाह्रो कुरा पनि होइन ।