
काठमाडौं । नाबालिकाको डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई उन्मुक्ति दिने गरी महान्यायाधिवक्ता कार्यालयबाट भएको निर्णय बदर माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।
कानुनका विद्यार्थीहरू उपेन्द्र राउत र आयुष मिश्रले आइतबार रिट पेस गरेका हुन् । रिटमा महान्यायाधिवक्ता सविता भण्डारी बराललाई पदमुक्त गर्नसमेत माग गरिएको छ । रिटमा बरालको प्रत्यक्ष स्वार्थ बाझिने मुद्दामा दबाब दिएर निर्णय गराएको जिकिर गरिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले रिट पेस भएको र दर्ता हुने वा नहुनेबारे अध्ययन भइरहेको बताउनुभयो । यसबारे सोमबार निर्णय हुन सक्ने उहाँको भनाइ छ । महान्यायाधिवक्ता कार्यालयले गत असोज ३१ मा नायब महान्यायाधिवक्ताको तहबाट जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्चबाट आएको मुद्दा नचल्ने फाइल सदर गरेको थियो ।
उक्त निर्णयले संविधान, फौजदारी कानुन र पीडितको न्याय प्राप्त गर्ने हकलाई अवरूद्ध र नियन्त्रण गर्नुका साथै भविष्यमा समेत यस प्रकारको पत्र जारी गरि फौजदारी न्याय प्रणालीलाई कमजोर बनाइ प्रभावित गराउन सक्ने कार्य हुन सक्ने सम्भावना समेत रहने जिकिर रिटमा गरिएको छ ।