तिनाउको मुहानमा सुख्खा पहिरो : कोइला लेदो मिसिएको धमिलो पानीले तटीय क्षेत्र जोखिममा

कार्तिक ३०, २०८२ |माधव अर्याल
तिनाउको मुहानमा सुख्खा पहिरो : कोइला लेदो मिसिएको धमिलो पानीले तटीय क्षेत्र जोखिममा

पाल्पा । तिनाउ खोलाको मुहान पाल्पाको पूर्वखोला गाउँपालिका-४ देवीनगरको उडडाँडामा ठूलो सुख्खा पहिरो खसेको छ। 

पहिरोमा कोइला खानीसमेत रहेकाले कालो लेदोसहित बगेको पानीले माडी हुँदै बुटवल बग्ने तिनाउ खोला नै धमिलो बनाएको छ। वातावरणविज्ञका अनुसार कोइलाको कालो लेदो पानी वस्तुभाउ, खेतीबाली, पिउनका लागि योग्य हुँदैन । दुई वर्ष अघिसम्मको सानो पहिरो अहिले विशाल बनेको छ । 

झाडी र जंगल साथै निगाली, बाँसको जंगलसमेत झन्डै दुई सय मिटरमा पहिरो खसिसकेको छ। पछिल्लो एक महिनायता मात्र सुख्खा पहिरो निरन्तर खसिसकेको छ । दुईसय मिटर लम्बाइ र ५० मिटर चौडाइमा खसेको पहिरोले स्थानीय बासिन्दाले तल्लो भेगमा लगाएको धान ल्याउन, खेतबारीमा जानसमेत समस्यामा परेका छन् । 

आधा घन्टामै घरमा आउन सकिने भए पनि अहिले डेढ घन्टा लगाएर यात्रा गर्नु परेको छ । तिनाउ खोलाको मुहान भएकाले पहिरो खस्दा तल्लो तटीय क्षेत्रका बासिन्दाका साथै स्थानीय बासिन्दासमेत विभिन्न समस्या खेप्नु परेको सुनाउँछन् । पहिला यो स्थानमा गोरेटो बाटो थियो । तीन वर्षअघि थोरै भत्केको थियो । 

मोटरबाटो खनेपछि पनि दुई वर्ष केही भएन । पछि विस्तारै विस्तारै हिउँद तथा वर्षायाममा पहिरो खसेपछि अहिले थप समस्या निम्तिएको हो । पहिरोदेखि माथिल्लो क्षेत्रमा १२ घरसमेत जोखिममा परेको छ । कोइला माटोसहितको पानीले धान उब्जाउ नहुने, पानी पिउन नमिल्ने र वस्तु भाउलाई खुवाउनसमेत स्थानीयले सकेका छैनन् ।

तिनाउ खोला धमिलो साथै कालो देखिएपछि सामाजिक सञ्जालमा चर्चा पाइसकेपछि स्थानीय प्रशासनले चासो दिएको छ । खेतबारीमा सिँचाई नगर्न, खानेपानीको मुहान भएकाले पानी प्रयोग नगर्न साथै माथिल्लो भेगमा रहेको बस्तीलाई सचेत हुन प्रहरी प्रशासनले पनि स्थलगत पुगेर आग्रह गरेको छ ।

पूर्वखोला गाउँपालिका-४ देवीनगर क्षेत्रमा ६ वर्षअघिसम्म कोइला उत्खनन हुन्थ्यो । अहिले बन्द भएको छ । यो पहिरोमासमेत कोइला खानी फेला परेकाले ढुंगा माटोसहित कालो लेदो बग्ने क्रम जारी छ । कालो लेदो तिनाउ खोलाको मुहानमै निरन्तर बगेकाले तल्लो तटीय क्षेत्रका बासिन्दा सचेत हुनु जरूरी छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।