
काठमाडौं । निर्वाचनमा आयोगमा एक सय २२ वटा दल दर्ता भएका छन् ।
आयोगले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन एक सय २२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् ।
उहाँकाअनुसार यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् । खारेज भएकाहरूमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरू नेतृत्वको आग्रहमा खारेज भएकाे उहाँको भनाइ छ ।
उहाँले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको बताउनु भयो । भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो । भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आइतबार अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताउनु भयो ।
उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागि हुने प्रयोजनको अवधीभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरूले निर्वाचनमा सहभागि हुन पाउने पनि बताउनु भयो । उहाँले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेको समेत बताउनु भयो । उहाँकाअनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी ५ मंसिरसम्म जारी रहने समेत बताउनु भयो ।
शनिबार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या दुई लाख रहेको समेत प्रवक्ता भट्टराईले बताउनु भयो ।