सरकार गठनको विरूद्धमा सात राजनीतिक दलहरूको प्रदर्शन आज पनि जारी

कार्तिक ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकार गठनको विरूद्धमा सात राजनीतिक दलहरूको प्रदर्शन आज पनि जारी

काठमाडौं । मधेश प्रदेशको सरकार गठनविरूद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार पनि प्रदर्शनको कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

मधेस प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको र मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले मधेश भवन अगाडि धर्नामा बसेका हुन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत साहले आफूहरूको विरोध तत्कालिन प्रदेश प्रमुखको असंवैधानिक कदमविरूद्ध रहेको बताउनु भयो । 

उहाँले सर्वोच्च आदलतले मुख्यमन्त्री नियुक्तिको विषयमा गर्ने फैसला मधेशी जनताको पक्षमा गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले समेत सर्वोच्चको फैसलालाई आफूहरू सम्मान गर्ने बताउनु हुँदै त्यसपछि आफूहरू सात दलिय गठबन्धनले छलफल गरी आन्दोलनको स्वरूपको विषयमा छलफल गर्ने बताउनु भयो ।

सात दलिय गठबन्धनमा नेपाली कांग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । आइतबार उनीहरू नेपालको राष्ट्रिय झन्डा बोकेर धर्नामा बसेका हुन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.