जनकपुरधाम । मठ-मन्दिर र पोखरीहरूको सहरका रूपमा प्रख्यात सांस्कृतिक तथा धार्मिक नगर जनकपुरधाम सार्वजनिक जग्गाको अवैध कारोबारका कारण पछिल्लो समय बदनाम हुँदै गएको छ ।
सार्वजनिक महत्वको मठमन्दिरका बहुमुल्य जग्गा एकपछि अर्को ठाउँमा अवैधरूपमा खुलेआम कब्जा गरी धमाधम भौतिक संरचना निर्माण भइरहे पनि सरोकारवाला निकाय भने बेखबर जस्तै छन् । अहिले त झन् मधेश प्रदेशको गहिरिँदो राजनीतिक संकटले सार्वजनिक जग्गाको अवैध कारोबार गर्नेहरू थप सक्रिय भएका छन् ।
मधेश प्रदेशमा मुख्यमन्त्रीको राजीनामा, नियुक्ति, प्रदेश प्रमुखलाई पदमुक्त र त्यसपछि नियुक्ति, सभामुखमाथि महाअभियोग र त्यसलगतै पाँच जना प्रदेश सभा सदस्य निलम्बन, सात दलको लगातार विरोध प्रदर्शनलगायत जनकपुरधाममा राजनीतिक संकट गहिरिँदो छ ।
जेन-जी आन्दोलनयता लगातार उत्पन्न राजनीतिक संकटको प्रत्यक्ष फाइदा जनकपुरधामका भूमाफियाहरूले निर्वाध उठाइरहेका छन् । यो जनकपुरधामको एतिहासिक मन्दिरहरू मध्येका एक रामानन्द चोक भन्दा पश्चिम सिया रघुनाथ सदनको जग्गामा यसरी अवैधरूपमा खुलेयाम घेराबेरा लगाउने र भवन निर्माण कार्य भइरहेको छ ।
सार्वजनिक जग्गाको अवैध कारोवार गर्नेहरूले विभिन्न आश्वासन दिएर महन्तसँग भोग चलनको कपाली कागज बनाएका छन् । जग्गा रजिष्ट्रेशन आफ्नो नाममा नरहेको र उपमहानगरपालिकासँग घर निर्माणका लागि कुनै प्रकारको ईजाजत प्राप्त नरहे पनि उनीहरूले धमाधम एकपछि अर्काे भवनहरू बनाइरहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ सिट नम्बर १३५४-१७ कित्ता नम्बर ४६, सिट नम्बर १३५४-१६ कित्ता नम्बर १२, सिट नम्बर १३५४-१३ कित्ता नम्बर ३९, सिट नम्बर १३५४-९ किता नम्बर १४ लगायतका एक बिघा १२ कठ्ठा भन्दा बढी सिया रघुनाथ सदनको खेतीयोग्य जग्गा मासेर यस अघि केहि घर बनाइएको छ । भूमाफियाको समूहले अहिले पुनः घेराबेरा लगाउने र पक्की घर बनाउने काम खुलेयाम गरी रहे पनि स्थानीय प्रशासन बेखबर छ ।
बिहार कुण्डको पूर्वी डिलमा रहेको सिया रघुनाथ सदन मन्दिरको नियमित पूजापाठ र महन्थ पूजारीको भोजन तथा अतिथिको स्वागत सत्कारका लागि धान गँहु उब्जाउन कुनै बेला दाताले दिएको यस जग्गाको चलन चल्तिको भाउ कम्तिमा तीन लाख प्रति धूरको हिसाबले १९ करोड २० लाख रूपैयाँ भन्दा बढी हुन जान्छ ।
स्थानीयतहको अझ कतिसम्म भने अवैध रूपमा सार्बजनिक महत्वका जग्गा कब्जा, दोस्रो जनकपुरधाम उपमहानगरसँग घर बनाउन नक्सा पास नगराएको र तेस्रो जग्गा धनी मन्दिरका महन्तले कानुन बमोजिम कारबाहीका लागि लिखित उजुरी दिए पनि उपमहानगरलाई कुनै वास्ता नै छैन । निर्वाचनको बेला धार्मिक महत्वका मठ-मन्दिरका जग्गा कुनै पनि हालतमा कब्जा हुन नदिने र भएका जग्गा फिर्ता ल्याउने प्रतिबद्धता जनाएका जनकपुरधाम उपमहानगरका प्रमुख मौन छन् ।
भूमाफियाहरुको खुलेयाम धाकधम्की, स्थानीय प्रशासन बेखबर, जनप्रतिनिधिको मौनता र प्रहरीले सुरक्षा दिन नसकेपछि मन्दिरका महन्त र उहाँका चेला भवेश मिश्र मन्दिर छाडि सिमावर्ती भारतीय जिल्लामा सरण लिन बाध्य भएका छन् ।