विज्ञहरू भन्छन् : नेपालमा दलतन्त्र हाबी हुँदा पत्रकारिता अपहेलित भयो

कार्तिक २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
विज्ञहरू भन्छन् : नेपालमा दलतन्त्र हाबी हुँदा पत्रकारिता अपहेलित भयो

काठमाडौं । विज्ञहरूले मुलुकको पत्रकारितामा दलतन्त्र हाबी भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल पत्रका महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य, वरिष्ठ पत्रकार किशोर नेपाललगायतका वक्ताहरूले पत्रकारहरू आफैँले सामाजिक सञ्जाललाई मिडिया भनिदिँदा उनीहरूको बिगबिगी हुने अवस्था आएको धारणा समेत राखेका छन् । 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहनुभएका प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारहरू आफैँले सामाजिक सञ्जाललाई सञ्चारमाध्यम हो भनिदिँदा पत्रकारिता क्षेत्र कमजोर भयो भन्ने टिप्पणी आउने गरेको बताउनु भयो । उहाँले विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले पत्रकारिताको नाममा ल्याइएको विसंगतिको सामना गरिरहनु परेको बताउनु भयो । प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारिता क्षेत्रलाई कमजोर हुन नदिन पत्रकारहरू आफैँ जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनु भयो ।

वरिष्ठ पत्रकार नेपालले दलहरू हाबी हुँदा नेपाल पत्रकार महासंघको नेतृत्व समेत उनीहरूले नै निर्वाचित गर्ने अवस्था आएको उल्लेख गर्नुभयो । दलले पत्रकार महासंघको नेतृत्व चयन गर्ने अवस्था आएकाले पत्रकारहरू अपहेलित हुने अवस्था पुगेको उहाँको निष्कर्ष थियो । वरिष्ठ पत्रकार नेपालले मिडिया हाउसहरूलाई व्यापारको भाडा बन्न नदिने कुरामा पनि नेपालको मिडिया सचेत हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपालको पत्रकारिता क्षेत्रमा देखिएको संकट समाधानका लागि राष्ट्रिय बहसलाई अघि बढाउन लागिएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.