
दाङ । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौं) अधिवेशन आह्वान गर्नुभएको छ ।
प्रदेश मन्त्रिपरिषद्को कार्तिक २४ गतेको निर्णयका आधारमा प्रदेश प्रमुख घर्तीले संविधानअनुसार अधिवेशन आह्वान गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम मंसिर ८ गते सोमबार दिउँसो १ बजेबाट अधिवेशन सुरू हुनेगरी प्रदेश प्रमुख घर्तीले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव ध्रुवकुमार कुवँरले जानकारी दिनुभएको छ ।
हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् ।
त्यसैगरी, दलित अधिकार सम्बन्धी विधेयक र बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ । त्यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन् । लुम्बिनीमा गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य भएको थियो ।