अनुसन्धानदेखि खेतसम्म दूरी : उन्नत गहुँ भए पनि किसान पुरानै बीउमा निर्भर

फाल्गुन २६, २०८२ |भुवन पाण्डे
अनुसन्धानदेखि खेतसम्म दूरी : उन्नत गहुँ भए पनि किसान पुरानै बीउमा निर्भर

रूपन्देही । ६ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास भए पनि ती सबै किसानको खेतसम्म पुगेका छैनन् । 

कमजोर कृषि प्रसारका कारण अधिकांश किसान पुरानै कम उत्पादन दिने बीउमै निर्भर छन् । अनुसन्धान र खेतबीचको दूरी घटाउन अहिले कृषि वैज्ञानिकहरू आफैा किसानलाई प्रविधि सिकाउन थालेका छन् । 

कैलालीका किसान प्रकाश सार्की वर्षौंदेखि परम्परागत तरिकाले गहुँ खेती गर्दै आउनुभएको थियो । उन्नत जात, बीउ छनोट र प्राविधिक ज्ञानबिना गरिएको खेतीबाट लागतसमेत उठाउन कठिन भइरहेको थियो । गाउँघरमा जे बिउ पाइन्थ्यो, त्यही लगाउने उहाँको बाध्यता थियो । तर, रूपन्देहीस्थित राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले आयोजना गरेको उन्नत गहुँ प्रविधि तालिममा सहभागी भएपछि उहाँको सोचाइ परिवर्तन भयो । 

तालिममार्फत उत्पादन र उत्पादकत्व बढाउने आधुनिक विधि सिकेपछि प्रकाश र उहाँका साथीहरू अब आफूले सिकेको सीप गाउँका अन्य किसानलाई पनि सिकाउने बताँउनुहुन्छ । एक सातासम्म सञ्चालन गरिएको तालिममा २४ जिल्लाका २५ जना किसान र १५ जना कृषिसम्बन्धी विद्यार्थी सहभागी भएका थिए । 

कृषि वैज्ञानिकहरूले सैद्धान्तिक र प्रयोगात्मक दुवै विधिबाट प्रशिक्षण दिएका थिए । अनुसन्धान स्थलमै लगेर व्यवहारिक अभ्यास गराइएको थियो भने बीउ उत्पादक कम्पनी र मैदा उद्योगमा अवलोकन भ्रमणसमेत गराइएको थियो । तालिममा उपयुक्त जात छनोट, बीउ उपचार, समयमै रोपाइा, लाइनमा छर्ने तरिका, माटो परीक्षण र सन्तुलित मलखाद प्रयोगबारे जानकारी दिइएको थियो । 

साथै सिँचाइ, रोग-कीरा व्यवस्थापन, झार नियन्त्रण, कटानी र सुरक्षित भण्डारणका उपाय पनि सिकाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद् -नार्कले विगत ६ दशकमा ५४ वटा उन्नत गहुँका जात विकास गरिसकेको छ । हाल चारवटा नयाँ जात सिफारिसको चरणमा छन् भने १३ वटा पुराना जात सूचीबाट हटाइएका छन् । 

नयाँ जातहरू जलवायु अनुकूलित हुनुका साथै रोग प्रतिरोधी, बढी उत्पादन दिने र जिङ्कको मात्रा बढी छ । तर, प्रदेश र स्थानीय तहले प्रसारका कार्यक्रमलाई प्रभावकारी बनाउन नसक्दा धेरै किसान अझै पनि पुरानै बीउमा निर्भर छन् । यही खाडल पुर्न नार्कले आफैँ किसानहरूलाई तालिम दिएर सिक्ने र सिकाउने अभियान सुरू गरेको हो ।

यदि उन्नत जातको बीउ, सिाचाइ र मलखादको उचित व्यवस्थापन हुन सके नेपाल गहुँमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्ने अवस्थामा पुग्न सक्छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।