
जनकपुर । मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा सात राजनीतिक दलले छैटौँ दिन पनि प्रदर्शन जारी राखेका छन् ।
मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको भन्दै प्रदेशसभा सदस्यहरू शुक्रबार पनि मधेस भवन अगाडि प्रदर्शनलाई जारी राखेका हुन् । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार मधेश प्रदेश सभामा सबैभन्दा ठूलो दलका संसदीय दलका नेताको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई कार्तिक २३ गते मुख्यमन्त्रीमा नियुक्त गरेर २४ गते सपथग्रहण गराएपछि ती दलहरू आन्दोलनमा होमिएका हुन् । सात दलले लगातार सडकमा धर्ना बसेर विरोध जनाइरहेका छन् ।
सात दलले ७४ जना प्रदेश सभाको समर्थन रहेको भन्दै संविधानको धारा १६८ को उपधारा २ को आधारमा बहुमतीय सरकार बनाउने अवस्था हुँदा हुँदै गलत नियतले उपधारा ३ प्रयोग गरेर नेकपा एमालेको नेतृत्वमा सरकार बनाइएको भन्दै सात दलका नेताहरू त्यही दिनदेखि विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।