
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले त्रिविको २५ सयभन्दा बढी रोपनी जग्गा हिनामिना भएको प्रतिवेदन सार्वजनिक गर्दै संलग्नमाथि थप अनुसन्धान अघि बढाउन सुझाव दिइसकेको छ । त्यसबाहेक समितिले जग्गाका केही यस्ता जानकारी पाएको छ, जसको बारेमा न त्रिविलाई थाहा छ, न जग्गा कहाँ छ भनेरै कसैलाई थाहा छ । आज हामी त्रिविका गायब भएका त्यस्ता जग्गाका बारेमा जानकारी दिँदैछौं ।
त्रिविको जग्गा खोजबिन समितिले तत्कालीन मुमा बडामहारानी कान्ति राज्यलक्ष्मी शाह र इश्वरी राज्यलक्ष्मी शाहले दानमा दिएको ३ सय ७५ रोपनी जग्गा ललितपुरको साविक लुभु पञ्चायत ९ क क्षेत्रमा रहेको जानकारी पाएपछि खोजबिन गर्यो । तर जग्गाको पत्तो पाउन नसकेपछि थप खोजविन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गर्यो । तत्कालीन राजपरिवारले जग्गा दान दिएकोबारे २०१३ असार १९ को गोर्खापत्रमा समेत प्रकाशित छ । तर जग्गा गायब छ । गायब भएको अर्को जग्गा हो कपनको २९ रोपनी ८ आना जग्गा । त्रिवि कार्यकारी परिषदको २०४६ असार १५ को बैठकले विद्वत शिरोमणी हेमराज शर्माको स्मृतिमा उहाँका छोरा केशवराज पाण्डे र किरणकुमारी पाण्डेबाट तत्कालीन कपन गाउपञ्चायत ७ (क) को २९ रोपनी ८ आना जग्गा दान लिने र दिने विषयलाई स्वीकृत गरेको छ । तर ३६ वर्ष बित्दा पनि उक्त जग्गा आफूमातहत आयो-आएन त्रिविलाई थाहा छैन । यसवारे पनि छानविन गर्नुपर्ने देखिएको छ ।
बाराको सिमरा पिपरामा पनि त्रिविको जग्गा थियो । तर त्रिविले इण्डो–नेपाल कटनमिलको ५७ विगाहा २ कठ्ठा ८ धुर उक्त जग्गा २०३९ मा सुर्य टोवाको कम्पनी प्रालिलाई राजनीमा गरी बिक्री गरेको जानकारी समितिले पाएको छ । तर समितिले उक्त जग्गाको विस्तृत अध्ययन गर्न नसकेकाले सम्वन्धित निकायबाट थप अध्ययन र अनुसन्धानको आवश्यकता औंल्याएको छ । यसबाहेक साँखु, लैनचौर, हात्तीगौंडा, टोखा, चौतारा, सिन्धुपाल्चोकलगायतका स्थानमा पनि त्रिविको जग्गा रहेको जानकारी पाएपछि समितिले खोजविन गर्यो । तर कुनै नतिजा हात लागेन । यी स्थानमा भएका भनिएका जग्गामा कसले हालीमुहाली गरिरहेको छ, थप अध्ययन र खोजविन जरुरी छ ।
२०१३ सालमा कीर्तिपुरको जग्गा अधिग्रहण गर्ने क्रममा बागमत नदीदेखि पश्चिम किर्तिपुरबाट कालिमाटी पुग्ने वाटोदेखि पूर्व पाँगा जाने वाटो भाजंगल र कीर्तिपुरदेखि उत्तर, बल्खुखोलादेखि दक्षिण सीमा कायम गरिएको देखिन्छ । यही स्थानमा १ हजार रोपनी जग्गा संकुचन भएको छानविन प्रतिवेदनले उल्लेख गरेको छ ।
त्रिविले अधिग्रहण भएर आफ्नो नाममा रहेका तथा मुआव्जा दिएका जग्गा कति छन्, ती जग्गाका लालपुर्जा छन् कि छैनन् ? छन् भने कहाँ-कस्तो अवस्थामा छन् ? खोजतलास गर्न र लगत लिन बेवास्ता गर्दा जग्गामा मनपरी र हिनामिना भयो, जसमा शिक्षा मन्त्रालयको नेतृत्वदेखि त्रिविका पदाधिकारीसम्म मौन भए, कतिले साथ दिए पनि । यसैले पनि त्रिविको जग्गाको वास्तविक स्थितिबारे अझै विस्तृत छानबिन र अनुसन्धान आवश्यक छ ।