
काठमाडौं । गत सेप्टेम्बरमा नेपाल आउने पर्यटक घटेकामा अक्टोबर लागेसँगै सुधार भएको छ ।
गत वर्षको अक्टोबरमा दैनिक ४ हजार पर्यटक आएकामा यो वर्ष दैनिक ४२ सय पर्यटक आउन थालेको र नेपाल भित्रने पर्यटकको संख्यामा सुधार आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सेप्टेम्बर, अक्टोबर र नोभेम्बर नेपालमा उच्च पर्यटक आउने सिजन हो ।
नेपाल पर्यटन बोर्डका अनुसार यो सिजनको पहिलो महिना सेप्टेम्बरमा ७८ हजार सात सय ११ जना मात्रै आएका छन् । जबकि गत वर्षको सेप्टेम्बरमा ९६ हजार ३ सय दुई जना आएका थिए । अर्थात् पर्यटक आगमन सेप्टेम्बर महिनामा १८ प्रतिशतले घटेको छ ।
सेप्टेम्बर ८ र ९ मा भएको जेन-जी आन्दोलन र त्यसपछिको आगजनीका कारण अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश गएका कारण पर्यटक घटेका थिए । तर अक्टोबर लागेसँगै पर्यटक आगमनमा सुधार आएको छ । गत वर्ष दैनिक ४ हजार पर्यटक आउने गरेकामा अहिले दैनिक ४२ सय जना आइरहेको र सेप्टेम्बर १८ सम्ममा ७५ हजार पर्यटक भित्रिइसकेको पर्यटन बोर्डले बताएको छ ।
मुख्य सिजनमै पर्यटक घटेपछि पर्यटन बोर्डले अहिले नेपाल आउन सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा जाने गरी काम गरिरहेको जनाएको छ । आन्तरिक पर्यटकहरूको चहलपहल बढेका कारण देशका विभिन्न भागका होटलहरूमा भने अहिले अकुपेन्सी बढेको छ । गत सेप्टेम्बरमा १५ देखि २० प्रतिशत रहेको अकुपेन्सी अहिले ८० प्रतिशत पुगेको उपत्यका बाहिरका होटल व्यवसायी बताउँछन् । साथै रेष्टुराँमा पनि ग्राहक बढेको व्यवसायीको भनाइ छ ।
उपत्यका बाहिरका होटलहरू आन्तरिक पर्यटकले भरिभराउ भए पनि काठमाडौं उपत्यकाका होटल व्यवसायी भने खुसी छैनन् । ३५ प्रतिशत हाराहारीमा मात्रै होटल अकुपेन्सी रहेको उनीहरूको भनाइ छ । विशेषगरी विदेशी पर्यटकहरू आएर बस्ने तारे होटलमा अकुपेन्सी सन्तोषजनक नरहेको व्यवसायी बताउँछन् । विदेशी पर्यटकको आगमन बढाउन नेपाल सुरक्षित छ भन्ने सन्देश बढाउन जरूरी छ । जसका लागि सरकारले प्रचारप्रसारमा जोड दिनुपर्छ ।
कान्तिपुर समाचारका लागि जिल्ला सहकर्मि राजु चौधरी र क्यामेरामा बिनोद कोजुका साथ सुदिल पोखरेल काठमाडौं ।