
सोलुखुम्बु । लगातारको मौसम प्रतिकुलतामका कारण देशकै सबैभन्दा धेरै विमानस्थल भएको जिल्ला सोलुखुम्बुमा हवाई उडान प्रभावित भएको छ ।
चार वटा विमानस्थल रहेको जिल्ला सोलुखुम्बुमा नियमित उडान हुने फाप्लु र लुक्ला विमानस्थलमा उडान तीन दिनदेखि अवरूद्ध बनेको हो । हिउँदमा आगन्तुक पर्यटकहरूको चाप उच्च हुने अवस्था भएता पनि मौसममा आएको खराबीका कारण आवतजावतनै बन्द रहेको लुक्ला विमास्थलले जनाएको छ । बेमौसमी वर्षात्का कारण लुक्ला विमानस्थलमा हवाई उडान नहुँदा विदेशी पर्यटकहरू अलपत्र परेका छन् ।
घुम्नका लागि निश्चीत समय लिएर आएका पर्यटकहरू फर्किन उडान नहुँदा विमानस्थल क्षेत्र पर्यटकले भरिभराउ छ । मौसममा खराबी आएपछि लुक्लामा तीन दिनदेखि उडान हुन नसकिरहेको एटिसी अफिसर नवराज कट्वालले बताउनुभयाे । यता सदरमुकाम नजिकै रहेको फाप्लु विमानस्थलमा पनि तीन दिन यता उडान हुन नसकिरहेको विमानस्थलले जनाएको छ ।
विशेषगरी सरकारी ध्वजाबाहक विमानले उडान भर्ने उक्त विमानस्थलमा समेत मौसमका कारणले तीन दिनदेखि उडान बन्द रहेको हो । मौसममा सुधार आए उडान सुरू भइहाल्ने विमानस्थलका कर्मचारी एटिसी अफिसर आयुस थापाले बताउनुभयाे ।बेमौसमी वर्षात्का हवाई मार्गमार्फत जिल्ला भित्रिने र बाहिरीने पर्यटकहरूलाई समस्या भएको छ । उडान नहुँदा पर्यटकहरूको बसाई व्यवस्थापनमै चुनौती भइरहेको छ ।
नाम्चे क्षेत्रबाट गन्तव्यका लागी हिँडेका पर्यटकहरू लुक्लामा आएर थन्कीनुपरेको अवस्था रहेको छ भने त्यहाँ पर्यटकहरूको बस्ने व्यवस्थापनमा चुनौती थपिएको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाजी शेर्पाले बताउनुभयाे । शनिबार दिउँसोबाट मौसमममा केही सुधार भएकाले उडान हुने आसा रहेको भएपनि पर्यटकहरूलाई उडान सुरू नभइन्जेल नाम्चेमै रहन भनिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार उडान नहुँदा १ हजार हाराहारीमा पर्यटकहरू लुक्लामा अलपत्र परेका छन् ।