मोन्था चक्रवातको प्रभाव : शुक्रबार पनि अधिकांश भू-भागमा पानी पर्ने

कार्तिक १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
मोन्था चक्रवातको प्रभाव : शुक्रबार पनि अधिकांश भू-भागमा पानी पर्ने

काठमाडौं । मोन्था चक्रवातको प्रभावले शुक्रबार पनि देशका धेरैजसो भू-भागमा पानी पर्ने भएको छ । यसको प्रभाव पूर्वी नेपालमा शनिबारसम्म देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिनभर नै सुदुरपश्चिम र कर्णालीबाहेकका प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने छ ।

महाशाखाले अत्यावश्यकबाहेक घरबाट ननिस्किन सुझाएको छ । त्यस्तै शनिबारसम्म धान नकाट्न र लामो दुरीको यात्रा नगर्न महाशाखाले आग्रह गरेको छ ।

मोन्था चक्रवातको प्रभावका कारण परेको लगातारको झरीले काठमाडौंसहित देशका अधिकांश स्थानको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमतीका धेरै स्थानमा र लुम्बिनी, गण्डकी प्रदेशको पूर्वी भेगमा बिहीबार मध्यमदेखि भारी वर्षा भयो । उच्चहिमाली भेगमा पनि भारी हिमपात भएको छ ।

प्रतिकूल मौसमका कारण भिजिविलिटी नपुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानसमेत प्रभावित भएका छन् । पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थलमा भने उडान र अवतरण दुवै प्रभावित भएका छन् । मौसममा देखिएको फेरबदलसँगै बाढी पहिरो र डुवानको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन पनि सरकारले आग्रह गरेको छ । शनिबार साँझदेखि मात्रै प्रणाली निस्कृय हुँदै जाने प्रक्षेपण विभागको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.