राहदानी छपाइका लागि पहल गरिदिन जर्मन राजदूतसँग प्रधानमन्त्रीको आग्रह

कार्तिक १३, २०८२
राहदानी छपाइका लागि पहल गरिदिन जर्मन राजदूतसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं । नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा छलफल भएको हो । यस क्रममा प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मितिअगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो । नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभयो ।

जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट कम्पनीलाई अनुरोध गरी यस विषयमा सक्दो पहल गर्ने बताउनु भयो । भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायत कूटनीतिक अधिकारीहरुको उपस्थिति थियो ।