खगेन्द्र सुनारको बयान तथा थुनछेक बहस सम्पन्न, आदेश आउन बाँकी

कार्तिक १३, २०८२ |पुजन धिताल
खगेन्द्र सुनारको बयान तथा थुनछेक बहस सम्पन्न, आदेश आउन बाँकी

काभ्रे । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द प्रयोग गरेको आरोपमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी गरिएका खगेन्द्र सुनारको बयान तथा थुनछेक सम्बन्धी बहस जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सम्पन्न भएको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीका अनुसार बिहीबार बिहान अदालतमा उपस्थित भएका सुनारको बयान र थुनछेक बहस न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा सम्पन्न भएको हो । उक्त मुद्दामा अदालतको आदेश भने आउन बाँकी रहेको उहाँले जानकारी दिनु भयो ।

सुनारमाथि अधिवक्ता मनिषा गौतमविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा अपशब्द प्रयोग गर्दै स्टाटस लेखेको र लाइभ मार्फत गालीगलौज गरेको आरोप लगाइएको छ। यससम्बन्धी उजुरी साइबर ब्यूरोमा दर्ता भएपछि अधिवक्ता गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकाले उक्त मुद्दा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पठाइएको थियो ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार कार्कीका अनुसार २०८२ सालको श्रावण महिनामा दोस्रो मुद्दाको रूपमा (मुद्दा नं. ८२ सी १–००२) दर्ता भएको यो मुद्दा सरकारवादी फौजदारी मुद्दाका रूपमा दर्ता गरिएको हो ।

उहाँका अनुसार, साउन ५ गते जिल्ला अदालतले सुनारको स्थायी ठेगाना रहेको प्रहरी कार्यालय दैलेखमा उहाँलाई पक्राउ गर्न ७ दिन र ३५ दिन म्याद राखी पुर्जी जारी गरेको थियो ।

पछिल्लोपटक मन्त्रीमण्डल विस्तारको क्रममा सुनारको नाम मन्त्री बनाइने सिफारिसको सूचीमा परे पनि, सुनारमाथि लागेको विभिन्न मुद्दा सार्वजनिक भएपछि अन्तिम समयमा उहाँको नाम सूचीबाट हटाइएको थियो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।