
बुटवल । डेडिकेटेड तथा ट्रंकलाइन महसूल विवादमा उद्योगीको विरोध प्रदर्शनमा भाषण गर्ने क्रममा ढल्नुभएका जिफन्ट नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
नेपाल विद्युत प्राधिकरणले रुपन्देहीमा १३ वटा उद्योगमा विद्युत कटौती गरेको विरोधमा बिहीबार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा बोल्दाबोल्दै ढल्नुभएका गौतमको निधन भएको हो । गौतमलाई तत्काल उपचारका लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याईएकोमा अस्पतालले उहालाई मृत्यु भएको घोषणा गरेको हो । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले अचानक ढलेलगत्तै अस्पताल लगिएकोमा अस्पतालले गौतमको मृत्यु भएको पुष्टि गरेको बताउनुभयो ।
जिफन्ट उपाध्यक्ष गौतम बुधबार सिद्धार्थ उद्योग बाणिज्य संघमा भएको बैठकमा संस्थागत रुपमै आन्दोलनमा सहभागी हुने जनाउनुभएको थियो । धर्ना कार्यक्रममा बोल्दै उहाँ केही आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएको थियो । उहाँले सरकारले उद्योगहरुलाई फसाएको आरोप लगाउँदै श्रमिकहरुलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गर्नुभएको थियो । उहाँले आन्दोलनलाई सांकेतिक रुपमा मात्र लिन जरुरी रहेको र २५ हजार श्रमिकहरुको रोजगारी गुम्दै गएको बताउँदै श्रमिकहरुलाई गुमाउन नचाहेको भन्दा बोली लरबरिएको थियो ।