‘फायरसाइड’मा गृहमन्त्री अर्याल- निर्वाचनप्रति सबै दल सकारात्मक

कार्तिक १०, २०८२ |रुपेश श्रेष्ठ
‘फायरसाइड’मा गृहमन्त्री अर्याल- निर्वाचनप्रति सबै दल सकारात्मक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू आन्दोलनको म्यान्डेटबाटै गृहमन्त्री बनेको भन्दै हल्लाका पछाडि नलाग्न अनुरोध गर्नुभएको छ।

'अहिले सरकार आफैं मिस-इन्फर्मेसन, डिस-इन्फर्मेसन र मिथ्या सूचनाको शिकार भइरहेको छ,' कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै मन्त्री अर्यालले भन्नुभयो,'यस्ता हल्ला र प्रचारविरूद्ध काम गर्ने संरचना सरकारसँग नहुँदो रहेछ।'

उहाँले आफ्नाविरूद्ध विभिन्न भ्रम फैलाइएको उल्लेख गर्दै त्यस्ता भ्रम सिर्जना नगर्न आग्रह गर्नुभयो। उहाँले मूलधारकै सञ्चारमाध्यममा समेत यस्ता कार्यमा लागेको प्रति रोष प्रकट गर्नुभयो। गृहमन्त्रीका रूपमा आफ्नो भूमिकामाथि प्रश्न गर्दै कतिपयले हटाउनुपर्छ भनेको समेत आफूले सुनेको उल्लेख गर्दै अर्यालले आफू राज्यका स्थापित संयन्त्रहरूमार्फत आन्दोलनको म्यान्डेट र जेन-जी आन्दोलनका घाइते र सहिदको आकांक्षाअनुरूप नै काम गरिरहेको जिकिर गर्नुभयो।

भदौ २३ मा आन्दोलनका क्रममा राज्य पक्षबाट भएको दमन र २४ गते भएको तोडफोड र आगजनीका घटनाहरूको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन भएकाले उसको छानबिन र प्रतिवेदन पर्खन पनि उहाँले आग्रह गर्नुभयो । तर आफू पीडित भएको महसुस गर्नेहरूले उजुरी लिएर प्रहरीमा जान सक्ने उहाँको भनाइ थियो ।

'के गृहमन्त्री दबाबको पहाडले घेरिनुभएको हो ?' भन्ने प्रश्नमा अर्यालले गृहमन्त्री भनेकै धेरै सरोकारवालाहरूको बीचमा रहेर काम गर्ने भूमिकामा रहने हुँदा सबैको माग र अपेक्षा आफूले सुनिरहेको बताउनुभयो। विद्रोहीलाई पनि सन्तुष्ट पार्ने र विद्रोहले विस्थापित भएकाहरूको पनि कुरा सुन्नुपर्ने दायित्वमा आफूमाथि रहेको उल्लेख गर्दै अर्यालले आन्दोलनका एजेन्डा विस्तारै पूरा हुँदै जाने आश्वासन समेत दिनुभयो ।

आन्दोलनको समयमा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारको दुरूपयोग नहोस् भनेर आफूले दिएको अभिव्यक्तिलाई अतिरञ्जित गरिएको आरोप उहाँको छ। 'सरकारले ती कैदीबन्दी र हतियार फिर्ता गराउन अपरेसन नै चलाइरहेको छ। मेरो वक्तव्यको सुरूमै मैले भनेको कुरालाई ध्यान नदिई अर्को विषयमा केन्द्रित हुनुले वातावरण सुधार्ने काम भएन,' गत साता कान्तिपुर टिभीमै प्रसारित नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्रीको अभिव्यक्तिलाई 'उट्पट्याङ्' को संज्ञा दिनुभएको सन्दर्भसहितको प्रश्नमा अर्यालले भन्नुभयो,'दलहरूले हामीले त्यस्ता कैदीबन्दी र हतियार दुरूपयोग गर्दैनौं भन्ने प्रतिबद्धता जनाउँदा के फरक पर्थ्यो ?'

केही दल वा नेताको पृष्ठभूमि र रूची हतियारको दुरूपयोगमा हुन सक्ने आशंका व्यक्त गर्नुभएका गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्वपूर्ण हुनेमा त्यसतर्फ गम्भीर भइदिन आग्रह गर्नुभयो। अर्यालले दलका शीर्ष नेतासँग संवाद सुरू नभए पनि दलहरू निर्वाचनमा आउने विश्वास व्यक्त गर्नुभयो। नेकपा एमाले पनि सारमा निर्वाचनप्रति नकारात्मक नरहेको आफूले बुझेको अर्यालको भनाइ छ। 

कार्यक्रम ‘फायरसाइड’ साेमबार राति ९ बजे कान्तिपुर टेलिभिजनसहित यसका डिजिटल प्ल्याटफर्ममा प्रशारण हुनेछ । 


Image

रुपेश श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख हुन् ।