कालीमार्सी धान झित्र्याउन जुम्लाबासीलाई भ्याइनभ्याइ

कार्तिक ९, २०८२ |डीबी बुढा
कालीमार्सी धान झित्र्याउन जुम्लाबासीलाई भ्याइनभ्याइ

जुम्ला । विश्वको उच्चस्थानमा फल्ने कालीमार्सी धान झित्र्याउन जुम्लाबासीलाई भ्याइनभ्याइ छ । 

जुम्ली मार्सी र कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेका उन्नत जातको धान एकैपटक भित्र्याउनुपर्दा कामको चटारो बढेको हो । जेठ असारमा रोपिएको धान असोज, कात्तिकमा भित्र्याउन तयार हुन्छ ।

जुम्लामा दशैंको घटस्थापनाको दिनदेखि सुरू भएको धान भित्र्याउने काम अहिले पनि जारी छ । त्यसैले धेरै किसानहरू यतिखेर खेतमै भेटिन्छन् । उनीहरू एकाबिहानै खेतमा पुगेर धान काट्नेदेखि चुट्नेसम्मको काम गरिरहेका छन् । धान भित्र्याइसकेपछि पराल पनि थन्क्याउनुपर्ने हुन्छ ।

जुम्लामा मार्सी धानमा मरूवा रोगको संक्रमण लामो समयदेखि छ । कृषि अनुसन्धान केन्द्र जुम्लाले चन्दननाथ १ र ३, लेकाली १ र ३ जातको धान सिफारिस गरेको छ । अहिले खेतमा मार्सीधानसँगै यो धानको पनि खेती भइरहेको छ । तर मार्सी धान रोप्न भने छाडिएको छैन । विगतको तुलनामा मार्सीधानको चामलको मूल्य पनि बढेको छ । जुम्लामै मार्सी चामल प्रतिकिलो १ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ ।

जुम्लामा मार्सीधान खेती गर्ने क्षेत्रफल भने बर्सेनि घट्दै छ । बजारमा सस्तो चामल पाइनु, मजदुर अभाव र धान रोप्ने समयमा युवायुवतीहरू यार्सागुम्बु टिप्न पाटन जानेलगायतका कारण मार्सीधानको खेती घट्दै गएको हो । तर पनि मार्सीधान जुम्लाको पहिचान भएकाले यसको व्यापार जुम्लाका कोशेली घरहरूदेखि काठमाडौंका सुपरमार्केटमा समेत हुने भएकाले खेती निरन्तर भइरहेको छ ।

कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा २ सय ९ सय हेक्टरमा धान खेती भइरहेको छ । उन्नत जातको धान प्रतिहेक्टर २४ सय क्विन्टल र मार्सी धान प्रतिहेक्टर २ हजार क्विन्टल उत्पादन हुने गरेको छ ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।