
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।
लामो छलफल र परामर्शपछि प्रधानमन्त्री कार्कीले अन्तरिम मन्त्रिपरिषद्मा चार मन्त्री थप्न लाग्नुभएको हो । मन्त्री बन्ने सूचीमा डा. सुधा शर्मा, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहनुभएको जनाइएको छ ।
डा. शर्मालाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चारै मन्त्रीले आजै शपथ लिने तयारी छ । यससँगै मन्त्रिपरिषद् १२ सदस्यीय हुने भएको छ ।
गत भदौ २७ गते प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्कीले ३० भदौमा ३ मन्त्री नियुक्त गर्नुभएको थियो भने ७ असोजमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै चार मन्त्री थप गर्नुभएको थियो ।
यस्तो छ मन्त्री बन्ने भनिएका चार जनाको पृष्ठभूमि ?
डा. सुधा शर्मा गौतम
पूर्वस्वास्थ्य सचिवसमेत रहनुभएकी डा. शर्मा स्त्री तथा प्रसूति तथा जनस्वास्थ्य विशेषज्ञ हुनुहुन्छ । २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरू गर्नुभएकी डा. शर्मा सचिवसम्म पुग्न सफल हुनुभएको थियो । उहाँ नेपाल चिकित्सक संघका पूर्वअध्यक्षसमेत हुनुहुन्छ । डा. शर्मा ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तकका लेखक पनि हुनुहुन्छ । निवर्तमान अतिरिक्त स्वास्थ्य सचिव संगीता कौशल मिश्रामाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रधानमन्त्रीले डा. शर्मालाई रोजेको बताइएको छ ।
गणपतिलाल श्रेष्ठ
सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले रानीपोखरी र बसन्तपुर दरबार क्षेत्र पुनर्निर्माणका क्रममा सम्पदा संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले अक्सफोर्ड विश्वविद्यालयमा सम्पदा संरक्षणबारे प्रस्तुति समेत दिइसक्नुभएको छ ।
खगेन्द्र सुनार
दलित अधिकारकर्मी खगेन्द्र सुनारले दलित प्रतिनिधित्व सुनिश्चित गर्न निरन्तर आन्दोलन गर्दै आउनुभएको छ । रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको हत्या प्रकरणपछि उहाँले लामो समयसम्म धर्ना दिनुभएको थियो । तर अदालतको आदेशलाई लिएर अनुकूलको फैसला नआए अदालत जलाउनेसम्मका अभिव्यक्ति दिएपछि उहाँ विवादमा आउनुभएको थियो । उहाँविरुद्ध सर्वोच्च अदालतमा अपहेलनाको मुद्दा विचाराधिन छ । त्यसबाहेक पनि देशका विभिन्न अदालतमा उहाँविरूद्ध कुटपिटदेखि, विद्युतीय कसुरसम्ममा मुद्दा विचाराधीन अवस्थामा रहेका छन् ।
बब्लु गुप्ता
सामाजिक अभियन्ता बब्लु गुप्ताले कोभिड महामारीमा निःशुल्क खाना र ‘कपडा बैंक’ अभियान सञ्चालन गर्नुभएको थियो । ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीलाई पढाउने र बिरामीका लागि रक्तदान समन्वय गर्ने कार्यमा सक्रिय बब्लु जेन-जीको प्रतिनिधित्व गर्दै मन्त्री बन्न लाग्नुभएको हो ।