तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ

कार्तिक ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । 

मन्त्रिपरिषद्‌मा आइतबार २ सदस्य थपिएसँगै मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरू डाक्टर सुधा शर्मा र बब्लु गुप्ताले सपथ लिनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई सपथ दिलाउनुभएको हो । डा. शर्मालाई स्वास्थ्य तथा जनसंख्या र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरेलगायत सरकारका उच्च अधिकारी सहभागि हुनुहुन्थ्यो । प्रधानमन्त्री कार्कीले ४ नयाँ मन्त्रीको सिफारिस गरे पनि अन्तिम समयमा आएर खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको नाम हटेको थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आकांक्षा राखे पनि प्रधानमन्त्री कार्कीले भूमि मन्त्रीमा सिफारिस गरेपछि श्रेष्ठले असन्तुष्टि जनाएको बताइएको छ । यसैगरी सर्वोच्चदेखि जिल्ला अदालतसम्म मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि श्रममन्त्रीमा सिफारिस हुनुभएका सुनारको नाम पनि प्रधानमन्त्रीले फिर्ता गर्नुभएको थियो ।

गत भदौ २७ गते प्रधानमन्त्री बन्नुभएकी सुशीला कार्कीले ३० भदौमा ३ मन्त्री नियुक्त गर्नुभएको थियो भने ७ असोजमा दोस्रो पटक मन्त्रिपरिषद्‍ विस्तार गर्दै ४ मन्त्री थप गर्नुभएको थियो । नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्माले स्वास्थ्य सचिवको समेत जिम्मेवारी सम्हालिनसक्नुभएको छ । 

उहाँ स्त्री तथा प्रसूति तथा जनस्वास्थ्य विशेषज्ञ हुनुहुन्छ । २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरू गर्नुभएकी डा. शर्मा सचिवसम्म पुग्न सफल हुनुभएको थियो । उहाँ नेपाल चिकित्सक स‌ंघका पूर्वअध्यक्षसमेत हुनुहुन्छ । डा. शर्मा ‘सिंहदरबारको घुम्ने मेच’ र ‘अप्रमेय’ पुस्तकका लेखक पनि हुनुहुन्छ ।

यसैगरी युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका सामाजिक अभियन्ता बब्लु गुप्ताले कोभिड महामारीमा निःशुल्क खाना र ‘कपडा बैंक’ अभियान सञ्चालन गर्नुभएको थियो । ‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीलाई पढाउने र बिरामीका लागि रक्तदान समन्वय गर्ने कार्यमा सक्रिय बब्लु जेन-जीको प्रतिनिधित्व गर्दै मन्त्री बन्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.