मधेसमा भरदुतिया पर्व मनाइँदै

कार्तिक ६, २०८२
मधेसमा भरदुतिया पर्व मनाइँदै

मिथिलाञ्चलसहित मधेसमा ‘भरदुतिया’ पर्व मनाइँदैछ ।

यो पर्वलाई ‘भ्रातृद्वितीया’, ‘भाइदुज’ वा ‘भरदुतिया’ नामले पनि चिनिन्छ । दिदीबहिनी र दाजुभाईबीचको माया, स्नेह र आपसी सम्बन्धको प्रतीकका रूपमा यो पर्व मनाइन्छ । भाइटीका र भरदुतिया बीच केही समानता रहे पनि विधि भने फरक हुन्छ । यस दिन दिदीबहिनीले बिहानै घर आँगन लिपपोत गरी चोख्याउँछन् र आँगनमा पवित्र पिर्का राखी त्यसमा अरिपन बनाएर सिन्दूरको थोपा लगाउँछन् । दाजुभाइ घर आइपुग्ने बित्तिकै दिदीबहिनीले उनको गोडा पानीले धोइदिन्छिन् र पवित्र पिर्कामा बसाउँछिन् ।

  त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी र फलफूल राखेर पानी चुहाउँदै परिक्रमा गर्ने चलन छ, जसलाई ‘न्यौत दिनु’ भनिन्छ । त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र गलामा मखमली माला लगाएर दीर्घायु र समृद्धिको कामना गर्छिन् ।

  दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार नगद, लुगा, गहना वा मिठाई जस्ता उपहार दिने प्रथा छ । यस दिन दाजुभाइ दिदीबहिनीको घरमा ‘भार’ (मिठा पकवानसहितको सनेस) लिएर पुग्ने परम्परा समेत छ ।मिथिलाञ्चलमा भरदुतिया पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता र पारिवारिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ । आजैको दिनबाट छठ पर्वको औपचारिक शुरुवात हुने धार्मिक मान्यता रहेको छ ।