काठमाडौं । गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको शव साेमबार नेपाल ल्याइएको छ ।
दिउँसो साढे २ बजे फ्लाई दुबईको उडानमार्फत विपिनको शव काठमाडौं ल्याइएको हो । विपिनको शवलाई प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू कुलमान घिसिङ तथा ओमप्रकाश अर्यालसहित सरकारका उच्च अधिकारीहरूले विमानस्थल पुगेर श्रद्धाञ्जली दिएका छन् । विपिनको शवलाई साेमबारनै नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी हुँदै घरसम्म पुर्याइनेछ ।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा विपिनलाई बन्धक बनाइ लगेका थिए । दुई वर्षसम्म स्थिति अज्ञात रहेकोमा गत असोज २७ गते विपिनको मृत्यु भएको पुष्टि गरिएको थियो । हमासले आक्रमण गर्दा १० नेपाली विद्यार्थीसहित करिब १ हजार २ सयको मृत्यु भएको थियो । विपिनसहित २ सय ५१ जना हमासको नियन्त्रणमा परेका थिए ।
अमेरिकाको सहजीकरणमा युद्धविराम भएपछि उहाँ छुट्ने अपेक्षा गरिएको थियो । तर, जोशीको मृत्यु भइसकेको जानकारी हमासले दिएको भन्दै इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले नेपाल सरकार, जोशीको परिवार र इजरायलस्थित नेपाली दूतावासलाई जानकारी गराएको थियो ।
गत सोमबार हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेको थियो । इजरायल सरकारले विपिनका परिवारलाई आफ्नो नागरिकले पाउने सेवा सुविधा उपलब्ध गराउने जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।