रामेछाप । मानसिक समस्याका कारण एक महिनादेखि कोठामा थुनिएका रामेछाप खाँडादेवी-२ चुल्ठेपानीका २३ वर्षीय दिनेश बुढाथोकीको उद्धार गरिएको छ।
मानव सेवा आश्रम, काठमाडौंको टोलीले स्थानीय पालिका र वडा कार्यालयको समन्वयमा उनलाई बुधबार उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको हो। २०७२ सालको भूकम्पपछि दिनेशलाई मानसिक समस्या देखिन थालेको परिवारले बताएको छ ।
पछिल्ला ६ महिनादेखि औषधि सेवन गर्दै आए पनि सुधार नदेखिएपछि सुरक्षाका कारण परिवारले कोठामै थुनेर राख्न बाध्य भएको बताएका छन् । उद्धारपछि दिनेशका ८१ वर्षीय बुबा यमबहादुर बुढाथोकीमा छोराको उपचारबाट फेरि सामान्य जीवनमा फर्किने आशा पलाएको बताउनुभएको छ।
दिनेशलाई परिवारले तीन वर्षभन्दा बढी समय सुधारगृहमा राखेर उपचार गरेका थिए। तर सुधार नदेखिएपछि अन्ततः परिवारले घरमै फलामको ग्रील र शौचालयसहितको कोठामा थुनेर राख्न बाध्य भएको थियो। गाउँपालिकाले बिरामीको उपचारका लागि तत्काल एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ।