आलोचनापछि रास्वपाको समानुपातिक सूचीमा परेका उम्मेदवारहरू नाम फिर्ता लिंदै

पुस १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
आलोचनापछि रास्वपाको समानुपातिक सूचीमा परेका उम्मेदवारहरू नाम फिर्ता लिंदै

काठमाडौं । पहुँच र पारिवारिक सम्बन्धलाई आधार बनाएर उम्मेदवार छनोट गरिएको भन्दै आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाको समानुपातिक सूचीमा परेका उम्मेदवारहरूले सामाजिक सञ्जालबाटै नाम फिर्ताको घोषणा गर्न थालेका छन् ।

समानुपातिक बन्दसूचीमा परेका गायिका त्रिशाला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ शाह र उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकालले उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन् । शाह मुस्लिम पुरुष क्लस्टरको पहिलो नम्बरमा रहनुभएको थियो । 

उहाँले जनभावना र पार्टी पंक्तिबाट आएको प्रतिक्रियालाई सम्मान गर्ने बताउँदै सूचीबाट नाम हटाएको उल्लेख गर्नुभएको छ । उहाँले प्रत्यक्ष चुनावमार्फत प्रतिस्पर्धा गर्ने योजनामा आफू दृढ रहेको पनि बताउनुभएको छ । यस्तै एफसी चितवनका अध्यक्षसमेत रहनुभएका ढकाललाई रास्वपाले खस आर्यको २ नम्बरमा राखेको थियो । 

त्यस्तै गायिका तथा चिकित्सक त्रिशाला गुरुङले पनि सामाजिक सञ्जालबाटै समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने घोषणा गर्नुभएको छ । सिफारिस पाउनु ठूलो सम्मान भए पनि आत्ममूल्यांकनपछि राजनीतिक पदमा नजाने निष्कर्षमा पुगेकाले नाम फिर्ता लिएको उहाँले बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.