जसको हिम्मतले जोगियो दाङ जिल्ला अदालत

साहसी संगिता अधिकारीलाई सम्मान
आश्विन २४, २०८२ |अमर क्षितिज भण्डारी
जसको हिम्मतले जोगियो दाङ जिल्ला अदालत

दाङ । भदौ २३ गते जेनजी आन्दोलनका क्रममा कलिला किशोरकिशोरीहरू मारिएपछि देशभरी आक्रोश फैलिरहेको थियो । त्यसले भदौ २४ गते आन्दोलन उत्कर्षमा पुग्यो । त्यसक्रममा दाङको घोराहीमा पनि सरकारी कार्यालय, सामाजिक संघसंस्था, राजनीतिक दलका कार्यालय र नेताका घरहरू तोडफोड भए । 

यस्तै गतिविधिमा संलग्न एक हुल भदौ २४ गते दिउँसोतिर दाङ जिल्ला अदालतभित्र पस्यो ६ इजलाश जिल्ला अदालतमा चलिरहेका थिए । प्रहरी सहायक निरीक्षक दीपक चन्दसहितको प्रहरी टोली अदालत सुरक्षामा थियो । हुल बढ्दै गयो । अदालत तोडफोड शुरु भयो । त्यति नै बेला डिउटीमा हुनुहुन्थ्यो प्रहरी सहायक हवल्दार ३२ वर्षीया संगीता अधिकारी पनि ।

हेडक्वार्टरबाटै हतियार र आफ्नो ज्यान बचाउनु भन्ने सर्कुलर आए पनि संगीतालाई भने मनले मानेन । जहाँ आफ्नो डिउटी थियो, आˆनै अगाडि अदालत जल्न थालेपछि संगीतालाई आन्दोलनकारीलाई सम्झाएर फर्काउने साहस जाग्यो । संगीताले तोडफोड, आगजनीमा लिप्त आन्दोलनकारीलाई हात जोडेर सरकारी सम्पति नजलाउन आग्रह गर्नुभयो । 

जनताकै करबाट बनेका सम्पति र पीडितको न्यायका लागि विचाराधीन मुद्दाका मिसिल नजलाइदिन अनुनय विनय गर्नुभयो । प्रहरीको अनुनयले आक्रोशित आन्दोलनकारी विध्वंसबाट रोकिन त रोकिएनन् तर पूर्ण क्षति गराउनबाट भने पछि हटे । अन्ततः भौतिक संरचनामा क्षति पुगे पनि हजारौं मुद्दाका मिसिल भने ९० प्रतिशत जोगिए ।

आन्दोलनका नाममा सार्वजनिक सम्पति जल्दा जोगाउन नसकेको भन्दै नागरिक स्तरमा सुरक्षा निकायको नियतमाथि नै प्रश्न उठिरहेका बेला अदालतमा जल्नबाट जोगाउने संगीता अधिकारीलाई दाङ जिल्ला अदालतले सम्मान गरेको छ ।

कठिन अवस्थामा पनि ज्यानको बाजी राखेर सरकारी सम्पत्तिको संरक्षणमा भूमिका खेलेको भन्दै जिल्ला अदालत दाङमा आयोजना गरिएको सम्मान कार्यक्रममा जिल्लाका कार्यालय प्रमूखहरुले मुक्तकण्ठले प्रसंशा गरे ।

कार्यालयका प्रमूख तथा अन्य कर्मचारीहरु ज्यान जोगाउन भागाभाग गर्दा आफ्नो जिउज्यानको प्रवाह नगरीे एक, दुईजना प्रहरीको प्रयासले सरकारी सम्पति जोगिएको भन्दै संगीताजस्ता कर्मठ प्रहरी उच्च प्रशंसा भैरहेको छ । संकटका समयमा आबेग र उत्तेजनामा आएर भन्दा बिना हातहतियार पनि अनुनय बिनयले पनि काम गर्दो रहेछ क्षतीलाई कम गर्न सकिने रहेछ भन्ने उदाहरण प्रहरी सहायक संगिता अधिकारीबाट सिक्नु पर्नेछ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।